तरहरा /कोशी अञ्चल यातायात व्यवस्था कार्यालय अन्तर्गतको सवारी चालक (लाइसेन्स) अनुमतिपत्र वितरण कार्यालय आइतबार अस्तव्यस्त रह्यो । लाइसेन्स वितरण प्रक्रिया ढिलो भएसँगै सेवाग्राहीको सङ्ख्या बढ्दा सर्वसाधारणहरु फारम लिन घण्टौं लाइनमा बस्न बाध्य हुँदैआएका छन् । लाइसेन्सको फारम लिन आइतबार बिहान ३ बजेदेखि हजारौं सर्वसाधारण लाइनमा बसेका थिए ।
लाइसेन्स वितरणलाई सहज बनाउन दैनिकरुपमा आवेदन लिनुपर्ने सर्वसाधारणको माग छ । फारम वितरण एकैचोटी हँुदा सर्वसाधारणलाई सास्ती भएको भन्दै दैनिकरुपमा फारम लिने व्यवस्था हुनुपर्ने इटहरी–२६ आँपगाछीका दीपक गौलीले माग गरे । फारम लिन बिहान ३ बजेदेखि भीड भएको उनले बताए । आइतबार दिनभर इटहरी क्षेत्रमा फारम भर्नेहरुको मोटरसाइकल राख्ने ठाउँसम्म नहुँदा ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त भएको थियो । यातायात कार्यालयको व्यवस्थापन लथालिङ्ग भएको भन्दै सर्वसाधारणहरु मुर्मुरिएको पाइन्थ्यो । दैनिकरुपमा आवेदन लिएर लाइसेन्स वितरण गर्ने वातावरण बनाउन स्थानीयवासी तथा नेपाली काङ्ग्रेस नगरसभापति हेमकर्ण पौडेलले समेत माग गरेका छन् ।
अर्कोतिर बिचौलियाहरुका कारण यातायात कार्यालय क्षेत्रमा सहजरुपमा काम गर्ने वातावरण नभएको समेत सर्वसाधारणले गुनासो गरेका छन् । फारम भराइदिन अग्रसर हुने बिचौलियाले ट्रायलमा परीक्षामा पास हुने ‘कन्फिडेन्स’ नभएर भित्र (कार्यालय) १५ हजार रुपैयाँ दिनेको पास हुने ग्यारेन्टी लिने भन्दै मोलतोल गर्ने गरेको धरानबाट फारम लिन आएका एक युवकले बताए । बिचौलियाले यसरी विभिन्न बहानामा रकम असुल्ने गरेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद चापागार्इंले कार्यालयमा बिचौलियाहरुलाई प्रवेश रोक लगाउन यातायात कार्यालयका प्रमुख श्यामकुमार सिंहलाई निर्देशन दिएका छन् । लाइसेन्स नभएकै कारण हजारौं सर्वसाधारण सडकमा विनालाइसेन्स सवारी साधन चलाइरहेको भन्दै लाइसेन्स वितरण प्रक्रिया चाँडो गर्न समेत प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
यातायातको लाइसेन्स वितरण शाखाका प्रमुख सिंहले भने फारम भर्नेको सङ्ख्या ह्वात्तै बढेको कारण समस्या भएको बताए । उनले भने, ‘कार्यालय वरपर सवारी साधन राख्ने ठाउँ नहँुदा ठूलो समस्या छ ।’ उनले पछिल्लो समय बिचौलियाहरु रोक्ने काम पनि भइरहेको बताए ।