धरान / नक्कली प्रमाणपत्र भएका चिकित्सकको विषयमा छानविन गरिरहेको सीआईबीको टोली धरानसमेत आएको खुलेको छ । छानविनको दायरामा रहेका चिकित्सकको सूचीमा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् चिकित्सकहरुसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार सोही सूचीमा समावेश भएका चिकित्सकलाई पक्राउ गर्न काठमाडौँबाट आएको टोली उनीहरु फेला नपरेपछि रित्तो हात फर्किएको छ । सूचीमा रहेका उनीहरु कोही विदामा र कोही धरानबाहिर रहेको थाहा पाएपछि टोली रित्तो हात फर्किएको स्रोतले जनाएको छ । धरानका डीएसपी ढकेन्द्र खतिवडाले पनि सीआईबीको टोली आएको पुष्टि गरे । उनले टोली आए पनि छानविनको सूचीमा को–को समावेश छन् भन्ने विषयमा भने आपूmलाई कुनै जानकारी नदिइएको बताए । चिकित्सा क्षेत्रमै हलचल ल्याउने गरी प्रहरीले चलाएको ‘अपरेसन क्वाक’ नसकिएको प्रहरीले बताएको छ । अप्रेसनको नेतृत्व गरिरहेका डीआईजी नवराज सिलवालले नक्कली प्रमाणपत्रधारी सबैलाई पक्राउ नगरी ‘अप्रेसन क्वाक’ समाप्त नहुने बताए । उनले छानविनकै लागि मात्र चिकित्सक पक्राउ नगरिएको स्पष्ट पार्दै भने, ‘आवश्यक प्रमाण जुटाइसकेपछि मात्र हामीले पक्राउ गर्न शुरु गरेका हौँ ।’ हालसम्म ३६ चिकित्सकलाई पक्राउ गरिसकिएको र यो सूचीमा सयभन्दा बढी हुने सिलवालले बताए । प्रमाणपत्र छानविनको काम अहिले पनि जारी रहेको र यो काममा सीआईबीको ठूलो जनशक्तिले काम गरिरहेको उनले जनाए ।
टोलीमा को–को छन् ?
डीआईजी नवराज सिलवाल, एसएसपी मनोज न्यौपाने, एसपीहरु तारिणी लम्साल, दीपेश लोहनी, हृदय थापा र नरेश मल्ल, डीएसपीहरु फिरोज बस्नेत, डीएसपीहरु ज्ञानेन्द्र पुmँयाल, प्रकाश दाहाल, अरुण पौडेल, कमल थापा र प्रवीण पोखरेल तथा इन्स्पेक्टरहरु कमला सुवेदी, महेश श्रेष्ठ, भीष्म हुमागाईं, हरि बस्नेत, सुरेश थापा, गोविन्द थापा, रुगन कुँवरसहित सीआईबीको ५० भन्दा बढीको विज्ञ टोली र स्थानीय प्रहरी अप्रेसनमा संलग्न छन् ।