तरहरा / मङ्गलबार बिहान अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटनमा परी मृत्यु भएकाहरुमध्ये तरहराका अंकुर तामाङको शव बुधबार साँझ तरहरा ल्याइएको छ । नेपाल सरकारले बुधबार बिहान नेपाल एयरलाइन्सको जहाज पठाएर मृतक १२ नेपालीको शव काठमाडौं ल्याएपछि लगत्तै अकुरको शव तरहरा ल्याइएको हो ।
सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
यसैबीच काबुल आक्रमणमा गम्भीर घाइते भएका च्याङ्बा तामाङको मृत्यु भएको छ । यससँगै आक्रमणमा मारिने नेपालीको सङ्ख्या १३ पुगेको छ ।
च्याङ्बा र अर्का एक घाइतेको भने अफगानिस्तानकै अस्पतालमै उपचार भइरहेको थियो । उपचारका क्रममा च्याङ्बा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै शव नेपाल ल्याउन आवश्यक प्रक्रिया शुरु गर्न कार्यबाहक राजदूत तीर्थ अर्याललाई निर्देशन दिइएको छ ।