सोलुखुम्बु/कल्पना गर्न सक्नुहुन्छ ? सोलुखुम्बू जहाँ हिउ पर्ने क्षेत्रमा पनि २५ सय केजी फोहोर संकलन भयो भनेर । तर, यथार्थ यस्तै छ । सोलुखम्बूको नाम्चेबाट सुरु भएको अभियानका क्रममा यति मात्रामा फोहोर संकलन गरेको हो ।
यसले पनि वातावरणमा नेपालीहरु कति सचेत छन् भन्ने कुरालाई स्पष्ट पार्दछ । अभियानका क्रममा तेङ्बाचे, पाङ्बोचे, फेरिचे, लवुचे, गोरक्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुगेर सफाई गर्दा यतिको मात्रामा फोहोर संकलन भएको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपिसीसी) का अनुसार व्यवस्थापक, कर्मचारी, स्थानीय र भरिया गरी ११५ जना सहभागी सरसफाइ टोलीले दुई हजार ५७८ किलो फोहर सङ्कलन गरेको एसपिसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । जल्ने प्रकृतिका प्लास्टिक जन्य एक हजार ५६० किलो फोहर नाम्चेमा ल्याई वातावरणीय प्रदूषण नहुने गरी इन्सिनेटरमा हालिएको जनाएको छ ।
त्यस्तै टिनका बोतल तथा धातुका नजल्ने एक हजार १८ किलो फोहरलाई पुनःप्रयोगमा ल्याउनका लागि काठमाडौँ पठाउने तयारी भइरहेको उपाध्यक्ष शेर्पाले बताउनुभयो– “काठमाडौँ पठाएर नजल्ने फोहरलाई पगालेर विभिन्न मूर्ति, हिमालको फोटो, जोप्के, गुम्बा, आदी बनाउन सकिन्छ ।”
पर्यटकीय सिजनमा पर्यटक, स्थानीय, व्यापारी, पर्यटकका सहयोगी तथा भरियाले जथाभावी फालेका फोहरलाई सङ्कलन गरी व्यवस्थापन गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको एसपिसिसीले जनाएको छ ।
सिजनका बेला अभियान सञ्चालन गर्दा पर्यटकलाई असुविधा हुनसक्ने कुरालाई मध्यनजर गर्दै सिजन सकिएपछि सरसफाइ अभियान सञ्चालन गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
पर्यटकलाई असहज नहोस् र अहिले ‘अफ सिजन’ फोहर व्यवस्थापन गर्दा भएभरको फोहर सङ्कलन हुने भएकाले अहिले अभियान सञ्चालन गरिएको हो । चार हजार ४४० मिटर अग्लो स्थान नाम्चेबाट सुरु भएको अभियान पाँच हजार ३६० मिटर अग्लो स्थानमा सगरमाथा आधार शिविरसम्मको फोहर सङ्कलन गरिएको थियो । सोही बाटो हुँदै फर्किदा सङ्कलित फोहरलाई नाम्चे ल्याएर व्यवस्थापन गर्ने उपाध्यक्ष शेर्पाले जानकारी दिए ।
अभियानका क्रममा सगरमाथाको आरोहण गर्ने तथा खुम्बु क्षेत्र घुम्न आएका पर्यटकले प्रयोग गरेका फोहर सङ्कलन गरिएको हो ।
फाइल फोटो