धरान/व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । संसद्को आजको पहिलो बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधका कारण अवरुद्ध भएपछि दोस्रो बैठक ३ः३० बजे बस्ने गरी स्थगन गरिएको हो । 19062016084230parliament-Meeting---(3)-1000x0 अवरुद्ध बैठक खोल्ने सम्बन्धमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति हुन नसकेपछि बैठक मङ्गलबार अपराह्न ३ः३० बजे बस्नेछ । अवरुद्ध संसद् बैठक खोल्ने सम्बन्धमा सहमति जुटाउन प्रतिपक्षसँग प्रारम्भिक छलफल भए पनि टुङ्गोमा पुग्न नसकेका कारण बैठक मङ्गलबारसम्मका लागि स्थगन गरिएको सांसद डा प्रकाशशरण महतले जानकारी दिनुभयो । संसद् सचिवालयले भने विशेष कारणवश बैठक स्थगित गरिएको सूचनामार्फत जानकारी गराएको छ । प्रधानमन्त्रीको उपस्थितिमा सहमतिका लागि भएको छलफलपछि काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, डा प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरालगायत नेता सम्मिलित कार्यदल गठन गरिएको बुझिएको छ । त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले पूर्व अर्थमन्त्री डा रामशरण महतले सदनमा व्यक्त गर्नुभएको विषय भरपर्दो नभएको बताउनुभयो । उहाँले मङ्गलबारसम्म प्रतिपक्ष दलले गम्भीर भएर सोचेर आउने र संसद् चल्नेमा आफू विश्वस्त रहेको बताउँदै सहमतिका लागि भोलि बिहान ८ बजे कार्यदलको बैठक बस्ने जानकारी गराउनुभयो । काँग्रेसले भूकम्पपीडितलाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै चार दिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रासस