धरान / चालु आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला विकास समितिबाट क्षेत्र नम्बर १ मा सञ्चालन भएका ११ वटा आयोजनाहरुको जिविसको प्राविधिक टोलीले बिहीबार अनुगमन निरीक्षण गरेको छ । anugaman कन्यापोखरीदेखि तेलनपुर पुग्ने बाटो निरक्षण गर्दै जिल्ला प्राविधिकसहितको टोली । तस्बिरःब्लाष्ट/भोजराज श्रेष्ठ क्षेत्र नम्बर १ मा सञ्चालन भएका आयोजनाहरु लागत इष्टिमेटहरु भन्दा जनसहभागितामा बढी काम भएकोसमेत टोलीले निश्कर्ष निकालेको छ । राजनीतिक दलहरु सम्मिलित टोलीले आयोजनाका राम्रा पक्ष, सुधार गर्नु पर्ने पक्ष र विवरणहरुको बारेमा समिक्षासमेत गरेको छ । राम्रा पक्षहरुमा जनसहभागितामा आयोजनामा तोकिए भन्दा बढी कामहरु भएको पाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिई कृष्णकुमार मिश्रले बताए । ‘स्टिमेट भन्दा बढी नै काम भएको देखिन्छ ।’ अनुगमनपछिको समिक्षा बैठकमा उनले भने ‘अन्य क्षेत्रको तुलनामा एक नम्बर क्षेत्रमा पैसाको सदुपयोग भएको देखिन्छ ।’ जिविसको लागतमा सञ्चालन भएका आयोजनाहरुमा सडक, ढल, पुल, सेड निर्माण, भवन निर्माणलगायत रहेका छन् । जसमा ११ वटा आयोजनाहरुमा सबैमा सोचेभन्दा बढी काम भएको पाइएको डिई मिश्रले बताए । क्षेत्र नम्बर १ का जनतामा आफ्नै हो भन्ने भावनासमेत देखिएकाले बढी भन्दा बढी काम भएको पाइएको उनले बताए । हाल निर्माण भइरहेको धरान–२३ र १५ लाई जोड्ने सेउती खोलाको पुलसमेत अनुगमन भएको छ । भ्याटसहित ४ करोड ७६ लाख ४४ हजार ९ सय ७ रुपैया २३ पैसा कुल लागत मध्ये एक करोडढ ५९ लाख ४४ हजार ६ सय ६४ रुपैया ९९ पैसाको काम भइसकेको छ । दुई वर्ष योजना अन्तर्गत उक्त पुलको निर्माण हालसम्म तिब्र गति मै सञ्चालन भइरहेको समिक्षा गरिएको छ । धरान–२१ कन्यापोखरीदेखि तेलनपुरसम्म पुग्ने ग्रामिण सडककोसमेत निरीक्षण गरेका छन् । ८ लाख ७३ हजार ४ सय ६८ रुपैया लागतमा निर्माण सम्पन्न भएको यो सडकमा ९ सय मिटर निर्माण गरिने भए पनि जनसहभागिता र जनश्रमदानबाट १३ सय ८० मिटर लामो बाटो निर्माण गरिएको छ । क्षेत्र नम्बर १ मा दिइएका १२ आयोजनाहरुमा धरान–१४ स्थित बहुजातीय संग्राहालयको काम बाहेक सबैको कार्य सम्पन्न भए पनि कागजी प्रक्रियाहरु बाँकी रहेको देखिएको छ । असार २० गतेसम्म सबै आयोजनाहरुको कागजी प्रक्रियाहरु पनि सम्पन्न हुने बताइएको छ । जिल्ला प्रशासनबाट सहायक सिडिओ कमलबहादुर थापा, प्राविधिक प्रमुख डिई मिश्रलगायत नेकपा एमाले जिल्ला उपाध्यक्ष रमेश बस्नेत, राष्ट्रिय जनमोक्ताका जिलला अध्यक्ष अमृत पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष विवेक राई, खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य उमेश खम्बूलगायतको टोलीसहित निरीक्षण गरेर आयोजनाको समिक्षा गरिएको हो । धरान–१५ निराजन मार्गको बाटो उपभोक्ताहरुले १८ लाख ४२ हजार ६३६ रुपैयामा सम्पन्न गरेका छन् । ८८ मिटर निर्माण गर्नु पर्नेमा जनसहभागितामा २२६ मिटर लामो बाटो निर्माण गरेका हुन् । जसको लागत स्टिमेट १७ लाख २५ हजार १ सय ३१ रुपैया रहेको थियो । धरान १७ उदयटोलको ढल निर्माण, धरान–१३ को अमर बहुउद्देश्य सामुदायिक भवन, धरान–१४ बहुजातीय संग्राहालय साथै टिकट काउन्टर भवन निर्माण, धरान ८ दिपशिखर मार्गको सडक, धरान–१३ कृषि उपज बजार स्थलको सेड निर्माण, धरान–२३ को सरस्वति उच्चमावि, धरान–२३ कै विद्युतीय कार्य, धरान–२१ र १५ जोड्ने काठे पुल निर्माणलगायत आयोजनाहरुको निरीक्षण गरिएको हो ।