विराटनगर/ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी चिकित्सा क्षेत्रमा प्रवेश गरेको भन्दै दुई साताअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विराटनगरबाट पक्राउ गरेका चिकित्सकहरु अदालतबाट धमाधम धरौटीमा छुट्न थालेका छन् । आइतवार तीनसहित अहिलेसम्म चार जना चिकित्सक धरौटीमा रिहा भएका छन् ।

शैक्षिक योग्यताको फर्जी प्रमाणपत्र पेश गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तीन चिकित्सक आइतवार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश विनोदमोहन आचार्यको इजलासले पक्राउ परेका तीन चिकित्सकलाई धरौटी लिएर पुर्पक्ष गर्ने आदेश दिएपछि उनीहरु धरौटीमा रिहा भएका हुन् ।
विराटनगरबाट गिरप्mतार भएका चिकित्सकहरुमध्ये नेत्ररोग विशेषज्ञ लिली राजवंशीलाई अदालतले सबैभन्दा बढी धरौटी रकम मागेको हो । राजवंशीको थुनछेक बहसपछि न्यायाधीश आचार्यले उनीसँग ३५ लाख रुपैयाँ धरौटी लिने आदेश गरेकमा हुन् ।
यसैगरी अर्का फर्जी प्रमाणपत्र पेश गरेको आशङ्का गरिएका डाक्टर सञ्जयकुमार दाससँग २३ लाख ९० हजार रुपैयाँ धरौटी लिएर पुर्पक्षमा राख्ने आदेश भएको छ । विराटनगरमा दास नामचलेका डाक्टरमा पर्दथे । उनी पक्राउ परेपछि उनको विराटनगर–१६ स्थित क्लिनिक बन्द भएको थियो ।
यस्तै जिल्ला अदालत मोरङमा दर्ता भएका मुद्दामाथि थुनछेकको बहसपछि डाक्टर अबुल कलामसँग १३ लाख धरौटी लिने आदेश भएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलाले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले उनीहरु विरुद्ध मोरङ जिल्ला अदालतमा ठगी मुद्दा चलाएको हो । पक्राउ परेका तीनैजनालाई बिहीबार अदालत पेश गरिएको थियो ।
यसअघि जिल्ला अदालत मोरङले वरिष्ठ फिजिसियन जावेद अख्तर अन्सारीलाई ५० हजार रुपैयाँ धरौटी लिएर पुर्पक्ष गर्ने आदेश गरेको थियो । चिकित्सकहरुलाई सिआईबीले दुई साताअघि विराटनगरबाट पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको हो ।