राजविराज/ जिम्मेवार निकायको बेवास्ताका कारण सप्तरी जिल्ला कारागारका महिला कैदीबन्दीको अवस्था पशुतुल्य भएको छ । भवन अभावको बहानामा कारागार प्रशासनले एउटै कोठामा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण उनीहरुको अवस्था यस्तो बनेको हो ।
कारागारमा हाल २९ जना महिला कैदीबन्दी राखिएका छन् । २९ जना भन्नेबित्तिकै सामान्यतया १०÷१५ वटा कोठा, शौचालय र भान्साको सहजै अनुमान गर्न सकिन्छ । तर, कारागारको अवस्था भने बिल्कुलै असहज देखिएको छ । करीब २० फिट लम्बाइ र १६ फिट चौडाइको चारकिल्लाभित्र महिला कैदीबन्दीहरुलाई राखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

सामान्य मानवीय अवस्थालाई समेत ख्याल नगरी कारागार प्रशासनले गरेको यस्तो व्यवहारले कैदीबन्दीको अवस्था दिनानुदिन नाजुक भइरहेको उनीहरुको भनाइ छ । स्थान अभावको कारण देखाउँदै कारागार प्रशासनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दै आएपनि महिलाहरुको क्षेत्रमा भने थप सम्वेदनहीन देखिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
जिल्ला कारागारमा देखिएको यस अवस्थाका विषयमा अधिवक्ता सुजित पोखरेलले समेत सम्बन्धित निकायको कडा आलोचना गरेका छन् । सामान्य मानवअधिकारको ख्याल समेत नगरी एउटा कोठामा पशुसरह मानिसलाई राख्नु, त्यसमा पनि सुत्केरी, असक्त तथा बिरामी महिलाहरुलाई भेडाबाख्रासरह कोचेर सजाय दिनु कारागार र गृह प्रशासनको गम्भीर त्रुटी भएको उनको भनाइ छ । ‘मान्छेले पशुपालन गर्दा समेत स्थानको पर्याप्तताका विषयमा सोचेर मात्र निर्णय लिन्छ’, उनले भने, ‘तर जिल्ला कारागारको अवस्था हेर्दा पशुलाई गर्ने त्यो व्यवहार समेत देखाइएको छैन ।’
महिला कैदीबन्दी लगायत सम्पूर्ण कारागार भवनको क्षमता वृद्धि तथा कैदीबन्दी व्यवस्थापनमा ध्यान नदिए गम्भीर अवस्था समेत आउन सक्ने पोखरेलले चेतावनी दिएका छन् । उनले हाल सप्तरी जिल्ला कारागारमा देखिएको अवस्था सुधारका लागि दबाव सृजना गर्न पत्रकार, मानवअधिकारकर्मी तथा सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले आपूmले निरीक्षण गर्दा कारागारको अवस्था दर्दनाक पाएको भन्दै यसबारे माथि लेखेर पठाएको बताए । महिला ब्लकमा सुत्नसम्म ठाउँ नभएको जानकारी आपूmले पाएको उनले जानकारी समेत दिए ।