शनिश्चरे / प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएपछि बन्द गराइएको झापाको दमकस्थित आम्दा अस्पतालमा छानविन समिति बनेपछि सोमबार दिउँसोबाट त्यहाँको सेवा सुचारु भएको छ । प्रसुती गराउन आएकी मेचीनगर नगरपालिका–८ की २१ वर्षीया सृजना बास्कोटाको मृत्यु भएपछि विक्षिप्त बनेका आफन्तहरुले सोमबार बिहानैबाट सेवा बन्द गराएका थिए । वार्तामा घटनाको सत्य तथ्य पत्ता लगाई अस्पतालका स्वास्थ्यकर्मी दोषी देखिए सोहीअनुरुप कारवाही तथा क्षतिपूर्ति प्रदान गर्ने सहमतिपछि छानविन समिति बनेको थियो । अस्पताल, पीडित पक्ष र दलका प्रतिनिधिसहितको समिति गठन भई चाँडै नै घटनाको छानविन गरिने निर्णय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन ढकालले बताए । प्रसुती व्यथा लागेपछि बास्कोटालाई शनिबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । आइतबार दिउँसो शल्यक्रियाबाट उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । उपचारको क्रममा सोमबार बिहान साढे ४ बजे उनको मृत्यु भएपछि उपचारमा लापरवाही भएको भन्दै आफन्तहरु आन्दोलित बनेका थिए । मृत्यु हुनुभन्दा करीब एक घण्टा अघिदेखि नै आपूmलाई गाह्रो भएको भन्दै बिरामीले बोलाउँदासमेत डाक्टर नआएको श्रीमान् निरजको भनाइ छ । नवजात छोरी भने सकुशल छिन् । अस्पतालमा तनाव उत्पन्न भएपछि उपचारका लागि आएका बिरामीलाई समेत समस्या हुँदा दमक इलाका प्रहरी कार्यालय र सशस्त्र गण पाथीभराको सहकार्यमा त्यहाँका बिरामीलाई अन्यत्र लगिएको थियो । सुरक्षाकर्मी तैनाथ गरेर अस्पतालको सुरक्षा गरिएको थियो ।