गछिया/ मोरङका सामुदायिक तथा सरकारी वन क्षेत्रबाट काठ तस्करी रोकिएको छैन । केही सामुदायिक वनका पदाधिकारीहरु नै काठ तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।
केही सामुदायिक वनका पदाधिकारीहरु नै काठ तस्करीमा संलग्न रहेको भन्दै जिल्ला वन कार्यालयले सामुदायिक वनविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि तस्करी हुने गरेको खुलासा भएको हो । समुदायमा हस्तान्तरित वन क्षेत्रका पदाधिकारीहरुले नै पदको दुरुपयोग गर्दै लाखौँ मूल्यबराबरका काठ तस्करी गरिरहेकाले भलुवा सामुदायिक वनका अध्यक्षसहित ११ जना पदाधिकारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको बेलबारी सेक्टर वन कार्यालयले जनाएको छ । वन पदाधिकारीले नै काटेर जङ्गलमा लुकाएर राखिएको अवस्थामा बहुमूल्य सखुवा र साजका काठ बरामद गरिएको बेलबारी सेक्टर वन कार्यालयका प्रमुख शत्रुधनलाल देवले बताए ।

सामुदायिक वनका पदाधिकारीहरुकै मिलोमतोमा काठ तस्करी भएको भन्दै उपभोक्ता समूहका अध्यक्ष रामकृष्ण अधिकारी, उपाध्यक्ष प्रेमकुमार राई, सचिव गीता आचार्य, सहसचिव सुवासचन्द्र घिमिरे, कोषाध्यक्ष धनकुमार राई तथा सदस्यहरु हर्कबहादुर राई, अग्निप्रसाद राणा मगर, अञ्जली खत्री, राधिका राई, तुलसी चापागाईं र गीता गुरुङविरुद्ध मुद्दा दायर गरेको सेक्टर वन कार्यालयले जनाएको छ ।
१ सय १६ क्युफिट सखुवाको काठ तस्करी गरेको भन्दै केही महिनाअगाडि बेलवारीकै खड्गबहादुर तामाङ र धनबहादुर राईलाई पक्राउ गरी मुद्दा दायर गरेको सेक्टर वन कार्यालयका प्रमुख देवले बताए । अहिले पनि केही तस्करहरु वन क्षेत्रमा सक्रिय रहेको उनको भनाइ छ ।
त्यस्तै, मोरङकै नमूना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले पनि काठ बेचेर आर्थिक हिनामिना गरेको भन्दै उनीहरुविरुद्ध पनि मुद्दा अदालतमा पुगेको जिल्ला वन कार्यालयले जनाएको छ । सो समूहका पदाधिकारीहरुले ४० लाख रुपैयाँ बराबरका काठ बिक्री गरी रकम बाँडेको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
पछिल्लो समयमा केही सामुदायिक वनका पदाधिकारीले गरेको फट्याइँका कारण समग्र सामुदायिक वन क्षेत्रको बेइज्जत भएको बेलबारीको सिंहदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीम कार्कीले बताए । उनले भने, ‘सरकारले वन क्षेत्रलाई व्यवस्थित गर्नुको विकल्प छैन ।’ यता मोरङका जिल्ला वन अधिकृत दीपक ज्ञवालीले पनि वन क्षेत्रमा तस्करी भइरहेको स्वीकार गरे । उनले भने, ‘सामुदायिक वन क्षेत्रकै पदाधिकारीहरुले फट्याइँ गरेका कारण उनीहरुलाई कानूनी दायरामा ल्याउने काम भइरहेको छ ।’ छिटफुट रुपमा केही काठ तस्करहरु पक्राउ परिरहेको बताउँदै उनले पछिल्लो समयमा तस्करी रोक्न प्रयास गरिरहेको दावी गरे ।