tplgताप्लेजुङ  /तमोर नदीमा आएको बाढीले ताप्लेजुङको दोभानमा निर्माणाधीन मोटरेवल पुल बगाएको छ । शुक्रबार राति आएको बाढीले निर्माण भइरहेको मोटरेवल पुल बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । निर्माणाधिन अबस्थामा रहेको पुलको जोडेको आधाभन्दा बढि सामान बगाउँदा करीव दुई करोड ५० लाख बराबरको क्षति भएको उत्तर दक्षिण आलाङ्चुङगोला लोकमार्गका प्रमुख कुबेर नेपालीले बताए ।

वर्षा यामसँगै नदीमा पानीको बहाव बढेको भन्दै निर्माणको जिम्मा लिएको कम्पनिले जेठको अन्तिम साता देखि मंसिर सम्मका लागि सो पुलको काम रोकेको थियो  । सम्झौता भएको दुई वर्षसम्म कामनै नगरी बर्षा लागसँगै काम सुरु गरेको हुलास कम्पनीले निर्माण कार्य अघि बढाउँदा पानीको बहावले नदिने र हालसम्म बनाएको संरचना पनि बगाउने भन्दै काम रोकेको थियो । ठेकेदार र कम्पनिको लापरवाहिका कारण समयमा काम नगरेको र आधा काम पनि वर्षातको समयमा मात्र गरेकाले पुल बगाएर क्षति बेहोर्नुपरेको स्थानियले अरोप लगाएका छन् । आर्थिक वर्ष २०६५/०६६ मा ठेक्का आब्हानपछि सम्झौता भए अनुसार २०७२ साल असोज महिनामा सकाउनुपर्ने भनिएपनि ठेकेदार र पुल निर्माणका लागि चाहिने सामान उत्पादक कम्पनीको लापरबाहिका कारण गत फागुनबाट मात्र कामले गति लिएको थियो । यस अघि पुल निर्माण गर्नुपर्ने जिम्मा पाएका कन्काई, मैनाचुली र याक्थुङहाङ कन्स्ट्रक्शन प्रालीले पुल निर्माणको लागि चाहिने सामान हुलास कम्पनीले उत्पादन गर्न ढिला गरेको र लामो समयको भारतीय नाकाबन्दी लगाएका कारण काम ढिला भएको बताएको थियो । निर्माणका लागि सम्झौता भएको छ वर्षामा कार्य समापन हुन नसक्दा र भएको केहि भाग पनि बगाएपछि अब पुलको काम पुन शुन्य लेवलबाट गर्नुपर्ने अबस्था आएको तापलेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । निर्माणधिन पुल बगाएपछि जिल्लाको निघुरादिन, फुलबारी, हाङपाङ, चाँगे, ढुंगेसाँघु, साँघु, फाकुम्बा, थिङलाबु, सान्थाक्रा, खोक्लिङ, लिबाङ, साँबा, खाम्लुङ, लिङ्तेप, थूकिमा, नाल्बु, पापुङ, लगायतका दुई दर्जन वडि गाविसहरुमा अन्य विकास निर्माणका काम समेत हुन सकेको छैन । एकवर्ष अघि नै निमार्ण कार्य पूरा भई सक्नुपर्ने यो पुलक पुन बगाएपछि स्थानीयबासी थप चिन्तित भएका छन् । यो पुुलको निमार्ण कार्य पूरा भएपछि पूर्वका पहाडी जिल्ला हुदै तराई जोड्ने मार्गको अवरोध समेत हट्ने देखिएको थियो । यसैविच गत शनिवार राति सावादिन र फुरुम्बु गाविसको विचमा पहिरोका कारण तमोर नदि थुनिएर बनेको ताल फुटेर नदिमा बाढि आएको स्थानियले आसंका गरे पनि सो ताल भने नफुटेको सो स्थानबाट स्थानिय शिक्षक चन्द्र तामाङले बताए । तालमा पानीको बहाव बढेको छभने फुरुम्बु तर्फको भाग कटान गरेर अहिले पनि बगीरहेको छ । तल भन्दा  माथिल्लो क्षेत्रबाट नै ठूलो बाढी आइ ताल अझै बढेपछि तमोर नदी किनारका स्थानीय त्रसित छन् । रातिनै बाढि आएपछि तमोर नदि किनारमा रहेको दोभान र हान्दु्रङ बजार सहित खोक्लिङ गाविसको थुम्बा बेसीका स्थानिय रातभर जागारम बसेका थिए । अहिले तमोर नदिमा आएको बाढि घटेकाले जोखिम नरहेको विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । बगाएको पुलको समितिका संयोजक सहित ईन्जिनियर को टोलिले समेत शनिवार विहान अवलोकन गरेको छ ।