उर्लाबारी /बक्राहा खोला गाउँमा पसेपछी विस्थापित भएका दुईसय घरपरिवार अझै अर्काकै शरणमा जीवन गुजारी रहेका छन् ।
गत असार ७ गते बक्राहा खोलाको बाँध फुटाएर बस्तीमा पसेपछि मोरङको मधुमल्ला गाविसको वडा नं। ४ र ५ का विस्थापित भएका करिब दुईसय घर परिवार अझै पुनःस्थापित हुन नसकेपछि अर्काको शरणमै बसेका हुन् ।
दुई तीन दिन विराएर आइरहेको वर्षाले अझै पनि ढुक्क भएर घर फर्कन सकेका छैनन् मधुमल्ला वडा नं. ४ र ५ वासीहरु । नत धप्पडटोल र कसेनीका वासिन्दा नै घर फर्कन सकेका छन् । गाउँका अधिकांश बासिन्दा नजिकै छिमेकीको घरमा शरण लिएर बसेका छन् । मधुमल्ला–५ बेतनीकी चित्रमाया लिम्बूको घरमा अहिले अन्य चार परिवारले शरण लिएका छन् । अलिपर डाँडामा रहेको चित्रमायाको घरमा केशव खड्का, गोकुल बुढाथोकी, बमबहादुर कटवाल र अगम दाहालको परिवार शरण लिएर बसिरहनु भएको छ ।
सानो घरमा ओतसम्म लाग्न पाएका अगम दाहालले भन्नुभयो ‘घरमुनि खोला कुदिरहेको छ । घरमुनि राखेको अन्नपात मात्र होइन झन्डै दुई विगाहा जग्गामा लगाएको वर्षे धानसमेत खोलाले पुरिदियो । दाहाल मात्र होइन केशव खड्का र बमबहादुर कटवालको घरको नियति पनि उस्तै छ । घर फर्कने अवस्था नै छैन । केशब खड्काले भन्नुभयो, ‘आँखै अगाडि १२ कठ्ठा जग्गा बगरमा परिणत भयो ।’ उहाँ भन्नुहुन्छ– ज्यान जोगाउँदा नै ठूलो जीत भएको महसुस भयो । अन्नबाली र घर तिर त ध्यान नै गएन ।
पूर्वपश्चिम राजमार्गको उर्लाबारीबाट ९ किलोमिटर उत्तरको मधुमल्ला गाविसअन्तर्गतका अधिकांश वडा बक्राहा नुनसरी खोलाको उच्च जोखिममा छन् । १० वर्ष भयो, बक्राहाले हरेक वर्षायाममा तीनजनाको ज्यान लिँदै आएको छ । स्थानीय विजय निरौलाका अनुसार यो वर्ष बक्राहाले दुई जनाको ज्यान लिइसकेको छ ।

चुरे संरक्षणका नाममा खोलाको गिट्टी वालुवा उत्खनन गर्न रोकिएपछि खोलाले अझ बढी दुःख दिन थालेको स्थानीयको भनाई छ । मधुमल्ला–४ का रामकुमार अधिकारीले भन्नुभयो, गाउँभन्दा खोलो अग्लो ठाउँबाट कुदेको छ । चुरेबाट हरेक वर्ष बालुवा ढुङ्गा बगेर आउँछ । तर ढुङ्गा, गिट्टी, बालुवा निकाल्न सरकारले दिँदैन । त्यसैले खोला बढेर आउँदा बस्तीमा पस्नेगर्छ ।
न्यानो अभियानले बाढी पीडितका लागि पूर्वी मोरङका उर्लाबारी, पथरी, दुर्गापुरी र मधुमल्लामा राहत सङ्कलन गरेको थियो जसअन्तर्गत स्वदेश र विदेशबाट गरी झन्डै ५ लाख रुपैयाँ सहयोग सङ्कलन भएको अभियानका आर्थिक संयोजक तथा समाजसेवी तेजन खड्काको भनाई छ ।
मधुमल्लाका बाढी पीडितलाई सरकारी र धेरैवटा गैरसरकारी संस्थाले राहतको पोको लिएर बाँडे तर उनीहरू राहत पाउँदा न त खुशी बने न विस्मात नै गरे । न्यानो अभियान उर्लाबारीका तर्फबाट ४ लाख रुपैयाँ बरावरको राहत लिएर पुगेको टोलीसँग उनीहरूले राहत होइन, बक्राहालाई तटबन्ध गरिदिन आग्रंह गरेको स्थानीय समाजसेवी तेजन खड्काको भनाई छ ।
रासस