बेनी (म्याग्दी) / म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार बिहानदेखि खस्न सुरु भएको पहिरो ४८ घन्टा बितिसक्दा पनि रोकिएको छैन । पहिरोले तोराखेतमा एक घर र दुई गोठ बगाएको छ भने सयौँ रोपनी जग्गा पुरिसकेको छ । स्थानीय जग्गाविहीन बनेका छन् । गाउँ माथिबाट आएको पहिरोले धनबहादुर दर्जीका घर र गोठ बगाएको हो । विगत पाँच वर्षदेखि खस्न सुरु गरेको सो पहिरोले स्थानीय धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिनुभएको छ । मल्लले दिएको जानकारीअनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भए पनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका–४ बगरफाँट समेत जोखिममा परेको छ । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाए पछि त्यहाँका १२ घर परिवार घरजग्गा विहीन बनेका छन् । विगतका वर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् ।