सप्तरी / लगातारको वर्षाको कारण सप्तरीका अधा दर्जन गाविसहरु डुबानमा परेको छ । शुक्रबार साँझ देखि परेको अविरल वर्षाको कारण सप्तरी जलमग्न बनेको हो ।

स्थानीय खाँडो खोलामा आएको बाढीका कारण सकरपुरा गाविस भने पूर्ण रुपमा डुबेको हो । स्थानीयका अनुसार सबै वार्डहरु यतिखेर जलमग्न बनेको छ । अहिले त्यस ठाउँमा प्रहरीले उच्च सर्तकता अपनाउनको लागि स्थानीयवासीलाई उर्दी नै जारी गरेको छ । घट्नास्थलमा पुगेका सशस्त्र प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठका अनुसार पाँच सयभन्दा बढी घर पूर्ण रुपमा डुबानमा परेका हुन् ।
डुवानका कारण खान, बस्न, सुत्नदेखि लिएर सबै समस्या भएको छ । खाना पकाउनसमेत असहज बन्दा अधिकांस व्यक्तिहरु भोकभोकै बसिरहनु परेको स्थानीयको भनाई उदृत गर्दै ति प्रहरी अधिकारीले बताए ।
वर्षाका कारण तिलाठी, रम्पुरा मल्हनिया, लौनियाँ गाविससमेतमा खाँडो खोलाको बाढी पसेको छ । तिलाठी गाविसको वडा नम्बर ८ र ९ का करिब ८० घरमा पानी पसेको छ ।
भारतले एकपक्षीय रुपमा निर्माण गरेको बाँध भत्केपछि सप्तरीको तिलाठी गाविसका बासिन्दाले केहि राहत पाएका हुन् ।
कोशी नदीको बहाव उच्च
निरन्तरको वर्षाका कारण कोशी नदीमा पानीको बहावसमेत बढेको जनाइएको छ । शनिबार मध्यान्हको मापन अनुसार दुई लाख २२ हजार क्यूसेक पानीको बहाब रहेको बताइएको छ ।
पानीको बहाब बढेसँगै व्यारेजको ५६ ढोकामध्ये २५ वटा ढोका खोलिएको कोशी व्यारेज कन्ट्रोल कक्षले जनाएको छ ।