धरान / विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार आयोजना गरेको नेपाल बन्दले पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दले मेची, कोशी र सगरमाथा अञ्चलमा यातायात चलेनन् ।
बन्दकर्ताले राजधानीमा दुईवटा ट्याक्सीमा आगजनी गरेका छन् । बिहान ट्याक्सीमै सवार दुईजनाले गोंगबू चोक नजिकै ट्याक्सी रोकेर आगजनी गरेका छन् । आगजनीबाट बा. १ ज २८६ नम्बरको ट्याक्सीमा आङ्शिक क्षती पुगेको डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
यस्तै नयाँ बानेश्वरको मीन भवननजिकै पनि ट्याक्सीमै सवार एक व्यक्तिले बा. १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन् । आगजनीबाट ट्याक्सीको सीटमा क्षति पुगेको शाहले बताए ।
यसैबीच राजधानीमा बन्दको आह्वान गर्दै हिँडेका ८३ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता चितवनको रत्ननगरमा सोमबार बिहानै औषधि बोकेको ट्रकमा आगजनी गरिएको छ । बिहान करीब १ बजेर ३० मिनेटको समयमा रत्ननगरको निपनी चोकमा अज्ञात समूहले ट्रक जलाएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको अगाडिको भाग जलेको र केही औषधिमा समेत क्षती पुगेको छ ।
चितवनका एसपी वसन्त कुँवरका अनुसार वीरगञ्जबाट काठमाडौं औषधि लिएर जाँदै गरेको ना. ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको हो ।
आगजनी गर्ने समूहको पहिचान नभएपनि सोमबार विप्लव नेतृत्वको माओवादीले बन्दको हल्ला पैmलाएकाले उनीहरुले नै जलाएको अनुमान प्रहरीले गरेको छ ।
यसैबीच बन्दको हल्लासँगै चितवन प्रहरीले राजधानीबाट आएका सवारीलाई बिहानैदेखि स्कटिङमा यातायात सञ्चालन गरेको थियो ।