sunaulo-hajar इनरुवा /  जिल्ला विकास समिति सुनसरीका कर्मचारी, गाविस सचिव, सुनौलो हजार दिन कार्यक्रमका कोच र आर.आर.एन टोलीका सदस्यहरुको मिलोमतोमा सुनसरीमा सुनौलो हजार दिन कार्यक्रमको नाममा व्यपाक अनियमितता भएको रहस्य खुलासा भएको छ । नेपालमा मातृशिशु पोषणको स्थितीमा सुधार ल्याउनका लागि नेपाल सरकार, मन्त्रि परिषदको मिति २०६९ जेठ ३२ गते निर्णय अनुसार सुनसरी लगायत बिभिन्न जिल्लामा संचालित सुनौलो हजार दिन कार्यक्रमको नाममा सुनसरीमा विगत बर्ष देखी नै व्यपाक अनियमितता हुने गरेको रहस्य खुलासा भएको हो । जिल्ला विकास समिति सुनसरी मार्फत गत आर्थिक वर्ष २०७१।०७२ मा बराहक्षेत्र, महेन्द्रनगर, मधुवन, भोक्राहा, रामनगरभुटाहा, गौतमपुर र राजगंजसिनुवारी गाविसमा संचाचिल रहेको थियो भने यस बर्ष थप भरौल, घुस्की, मध्यहर्षाही, देवान्गंज र सत्तेरझोरा गाविस गरी जिल्लाको १२ वटा गाविसमा सुनौलो हजार दिन कार्यक्रम लागु गरी संचालन गर्दै आएको सुनौलो दिन कार्यक्रमकी फोकल पर्सन तथा जिल्ला विकास समिति सुनसरीकी सामाजिक विकास अधिकृत माया राईले जानकारी दिनुभयो । नेपालमा मातृशिशु पोषणको स्थिीतीमा सुधार ल्याउनका लागि विश्व बैंकको श्रmृण सहयोगमा संचालित सुनौलो हजार दिन कार्यक्रम सुनसरीमा प्रभावहिन पाईएको स्थानीयवासीहरुको गुनासो रहेको छ । जिल्ला विकास समितिको कार्यालय सुनसरीले सुनौलो हजार दिन कार्यक्रम संचालनका लागि १२ वटा गाविसमा ४ करोड ६९ लाख रकम सम्बन्धित गाउँ विकास समितिको कार्यालयको खातामा पठाईएको र आर.आर.एन. टाली गाउँ विकास समितिको कार्यालयसँग सम्झौता गरी संचालन गर्ने प्रवधान रहेको जिल्ला विकास समिति सुनसरीले जनाएको छ । पोषणको स्थितीमा सुधारका लागि संचालन गर्ने भनिएको कार्यक्रम अधिकाँश गाविसमा टुयुवेल(कल), फिल्टर र हर्लिस वितरण गरी कार्यक्रम समपन्न गर्ने गरेको र समान खरिदमा पनि व्यापक अनियमितता हुने र कार्यक्रम कागजमा मात्रै सिमित रहेकोले प्रभावहिन भएको स्थानीयवासीहरुले गुनासो गरेका छन् । सुनौलो हजार दिन कार्यक्रम संचालनका लागि जिल्ला विकास समिति सुनसरीले प्रत्येक गाविसको प्रत्येक वार्डमा २ वटा आर.आर.एन टोली गठन गरी प्रत्येक नयाँ टोलीलाई २ लाख २० हजार र पुरानो टोलीलाई २ लाख १७ हजारका दरले समुदाय स्तरमा कार्यक्रम संचालनका लागि रकम दिने गरेको राईले बताईन् । प्रत्येक पुरानो गाविसमा २ करोड ३४ लाख ३६ र प्रत्येक नयाँ गाविसमा २ करोड ३७ लाख ६० हजार गरी जम्मा ४ करोड ६८ लाख ७२ हजार रकम १२ वटा गाविसमा सुनौलो हजार दिन कार्यक्रमको नाममा जाने गरेको जिल्ला विकास समिति सुनसरीले जनाएको छ । तर जिल्ला विकास समिति सुनसरीद्धारा सरोकारवलाहरुको उपस्थितमा प्रभावकारी अनुगमनको अभावमा सुनसरीमा सुनौलो हजार दिन कार्यक्रम अधिकाँश गाविसमा प्रभावहिन र काजगमै सिमित भएको पाईएको हो । सुनसरीको सत्तेरझोरा, गौतमपुर, रामनगरभुटाहा, घुस्की, राजगंजसिनुवारी लगायतका  गाविसहरुमा सुनौलो हजार दिन कार्यक्रम प्रभावहिन र कागजमा मात्रै सिमित भएको पाईएको छ । त्यसैगरी समयमा सुनौलो हजार दिन कार्यक्रम संचालन नगर्दा समेत यस्तो समस्या देखा परेको हो । आर्थिक बर्ष असार मसान्त सम्ममा कार्यक्रम समपन्न गरी बिल भर्पाई फर्चोट गर्नुपर्नेमा साउन १० गते सम्म पनि कार्यक्रम जिल्लाको बिभिन्न गाविसमा संचालन भई रहेकोले कार्यक्रम प्रभावहिन रहेको पुष्टि हुन्छ । प्राय गाविसहरुमा लक्षित समुदायको उपस्थित बिना नै कार्यक्रम संचालन भई कार्यक्रम कागजमा मात्र सिमित हुने गरेको स्थानीय लक्षित समुदायहरुले गुनासो गरेका छन् ।  स्थानीयवासीका अनुसार पोषण स्थितीमा सुधारका सत्तेरझोरा गाविसमा वितरण गरिएको हर्लिस १ केजीको ठाउँमा आधा केजीका दरले मात्रै वितरण गरी कार्यक्रम समपन्न गरेको छ ।  यसैगरी जिल्ला विकास समिति सुनसरीका कर्मचारी, गाविस सचिव, सुनौलो हजार दिन कार्यक्रमका कर्मचारी, कोच र आर.आर.एन टोली बिच एकआपसमा समझदारी हुन नसकेका कारण समेत कार्यक्रम प्रवाभहिन भएको पाईएको छ । यता जिल्ला विकास समिति सुनसरीकी सामाजिक विकास अधिकृत तथा सुनौलो हजार दिन कार्यक्रमकी फोकल पर्सन माया राईले समुदायबाट नै कार्यक्रम संचालन हुने गरेको र गाविसको सिफारिस, बिल, भौचरका आधारमा जिल्ला विकास समिति सुनसरीबाट रकम निकासा दिने गरेको कारण जिल्ला विकास समिति सुनसरीका कर्मचारीहरुको कुनै मिलोमतो नरहेको प्रतिक्रिया व्यक्त गरिन् । त्यसैगरी सुनौलो हजार दिन आयोजना कार्यक्रम सुनसरीका संयोजक बिष्णुकान्त देवले सुनौलो हजार दिन कार्यक्रम जिल्ला विकास समिति सुनसरी मार्फत, गाविस कार्यालयको सिफारिसमा समुदायले नै संचालन गर्ने र सुनौलो हजार दिन आयोजनाले कार्यक्रमको अनुगमन तथा रेखदेख मात्रै गर्ने भएकोले कार्यक्रममा अनियमितता भएको आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।