विजयपुर/ सुनसरीको भरौल गाविसस्थित स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहेताले स्वास्थ्य चौकीछेवैमा अवैध मेडिकल सञ्चालन गरेका छन् । उनले स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीलाई आप्mनो मेडिकलबाट औषधि किन्न बाध्य पार्ने गरेका छन् । नेपाल सरकारले स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकी मार्फत दिइने सम्पूर्ण सेवालाई निःशुल्क गर्ने नीति अवलम्बन गरेको छ । तर, हेल्थ असिस्टेन्ट समेत रहेका मेहेताले स्वास्थ्य चौकीमा आउने बिरामीलाई स्वास्थ्य चौकीबाट २० मिटरको दूरीमा अाफुले सञ्चालन गरेको वराह उपचार तथा ल्याब क्लिनिकमा औषधि किनाउने गरेका छन् । varoul अहेब मेहेताले अाफुले नियमविपरीत मेडिकल सञ्चालन गरेको र केही बिरामीले औषधि किन्ने गरेको स्वीकार समेत गरेका छन् । उनी सरकारका कर्मचारी हुन् । सरकारको तलब लिने स्वास्थ्य चौकीका प्रमुख मेहेताले जनताले गरेको सम्मानलाई खिल्ली उडाउँदै तिनै नागरिकलाई सास्ती दिइरहेका छन् । स्वास्थ्य चौकीलाई नियमन गरी निर्देशन दिने गाउँ विकास समिति भरौल र जिल्ला स्वास्थ्य कार्यालय भने मूकदर्शक बनेका छन् । स्मरणरहोस्, स्वास्थ्य चौकीमा निम्न आयस्तर भएका नागरिकहरु सेवा लिन जाने गरेको सरकारी तथ्याङ्कले देखाउने गरेको छ । स्वास्थ्य चौकी प्रमुख मेहेता अाफैपनि स्वास्थ्य चौकीमा गरीब जनता आउने गरेको स्वीकार गर्दै भन्छन्, ‘यहाँ निम्न आय भएकाहरु निःशुल्क औषधि पाइन्छ भनेर आउने गरेका छन्, केहीले मेरोमा औषधि किन्ने गरेका छन् ।’ मेहेताले सञ्चालन गरेको वराह उपचार तथा ल्याब क्लिनिक पनि अवैध रहेको छ । यसरी औषधि बेच्न, उपचार गर्न र ल्याब परीक्षण गर्न सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ । तर मेहेता हाक्काहाक्की अाफुले दर्ता नगरी सञ्चालन गरेको स्वीकार गर्छन् । स्थानीयले दिएको जानकारी अनुसार सरकारले निःशुल्क दिने भनिएको कतिपय औषधी समेत बिरामीले उनकै क्लिनिकबाट किन्नु परेको छ । स्मरणीय छ, सरकारले विभिन्न ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न स्वास्थ्य कार्यालयहरुमा पठाउने गरेको छ । भरौलमा भने ४० प्रकारका औषधीमात्र आएको मेहेताले बताए । मेहेताले अवैध रुपमा सञ्चालन गरेको मेडिकलमा उनकी श्रीमती कविता सिंह बस्ने गरेकी छिन् । उनले सिएमए पढेकी छिन् । औषधी पसल सञ्चालन गर्न औषधी व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ भने औषधी पसलमा फार्मेसी पढेको व्यक्तिमात्र बस्न पाउँछ । सरकारी सेवा प्रवाह गर्न बनेको कार्यविधिमा सरकारी स्वास्थ्य संस्थाछेउमा निजी स्वास्थ्य संस्था खोल्न नपाउने उल्लेख छ । तर स्वास्थ्य चौकीका प्रमुख उमेशप्रसाद मेहेताले भने सरकारी निर्देशनलाई ठाडो चुनौती दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय भने यसप्रति अनभिज्ञ जस्तै बनेको छ । मेहेता अाफैलाई अन्य स्वास्थ्य संस्थामा काम गर्न पाउँदिन भन्ने जानकारी छ । ‘मैले बाहिर काम गर्न हुँदैन भन्ने थाहा छ, तर यसो अल्मलिने मेलो गरेको हो’, उनले ब्लाष्टकर्मीमाझ गर्वका साथ भने । उता स्वास्थ्य चौकी व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी भरौल गाविसकी सचिव शोभा दाहालले यस विषयमा अाफुसम्म पनि जनगुनासो आएको सुनाइन् । ‘अब म तुरुन्त एक्सन लिन्छु’, सचिव दाहालले भनिन्, ‘हरेक राष्ट्रसेवक कर्मचारी जनताप्रति उत्तरदायी र जवाफदेही हुनु पर्छ ।’ अाफु स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष भएको नाताले यसलाई सुधार गर्न लागिपर्ने उनले बताइन् । उता जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डिल्लीरमण अधिकारीले यस विषयमा अाफुलाइ सूचना नआएको बताउँदै तत्काल जानकारी लिएर कारवाही प्रक्रिया अघि बढाउने बताए । ‘तपाइ माफत सूचना पाएँ, म कारवाही थाल्छु’, उनले भने ।