काठमाडौँ/ भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । आजभन्दा १३ वर्ष पहिला २०६० मङ्सिर १० मा ओखलढुङ्गा थाक्लेका गण्डबहादुर राईको हत्या अभियोगमा ओखलढुङ्गा कारागारमा जेलजीवन बिताइरहेका लड्वीर राई तीन वर्षपछि कारागार फोडेर भागे । अर्काको ज्यान मारेर जेलजीवन बिताइरहेका लड्वीर भागेपछि प्रहरीलाई अपराधी पक्रन दबाब प¥यो अन्ततः महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले भागेको दश वर्षपछि वैशाखमा पक्रन सफल भयो । यस्तै गुल्मी शान्तिपुर धुवकोट घर भई सामाखुसी बस्ने १८ वर्षीय बैकुण्ठ रानामगरलाई रानीबारीचोकमा ६ जनाको समूहले फलामको पाता प्रहार गरी हत्या ग¥यो । उक्त घटना २०६३ असार ३२ गतेको थियो । यो घटनालाई पनि महाशाखाको टोलीले प्राथमिकताका साथ अनुसन्धान ग¥यो अन्ततः २०७२ भदौ १६ मा राजकुमार श्रेष्ठ र विक्रम क्षेत्रीलाई पक्रन सफल भयो । यसैगरी आजभन्दा १२ वर्ष पहिले ललितपुरको बडिखेलमा भानु नगरकोटी सहित उनका पाँचजना परिवारकोे हत्या भएको घटनालाई पनि प्रहरीले निकै सक्रियताका साथ अनुसन्धान गरी दोषीलाई समात्यो । अपराधी मृतक भानु नगरकोटीका जेठान चन्द्रबहादुर पहरी थिए । माथिका घटना केवल केही उदाहरण मात्र हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले आर्थिक वर्ष ७२/७३ मा तीनवटा पुराना घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याएको छ । महाशाखाले आर्थिक वर्ष २०७२/०७३ मा कर्तव्य ज्यान मार्ने सम्बन्धी उपत्यकामा १८ घटनाको सफल अनुसन्धान गरेको छ । महाशाखामा ज्यान मुद्दामा २० घटनाको उजुरी परेपनि दुई घटनाको अनुसन्धान जारी रहेको महाशाखाका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उक्त अपराधमा प्रहरीले दुई महिलासहित ३१ जनालाई पक्राउ समेत गरिसकेको छ । महाशाखाले आव ७१/७२ मा १३ घटनाको अनुसन्धान गरेको छ । जसमा एक महिलासहित २० पुरुषलाई पक्राउ गरेको महशाखाले जनाएको छ । मुलुकी ऐनको सजाया १३ मा अवैध हातहतियार प्रयोग गरी कसैको ज्यान मारेमा सर्वोस्व सहित जन्मकैद गरिने प्रावधान उल्लेख छ । उपरीक्षक रेग्मीले भने, “बाँकी अनुसन्धानलाई हामीले सक्रियताका साथ अनुसन्धान गरिरहेका छौँ, चाँडो नै यसको परिणाम आउँछ ।” यस्तै महाशाखाले अवैध लागुऔषध कारोबारमा चार र वन्यजन्तु ओसारपसारमा आठ मुद्दाको अनुसन्धान गरेको छ । जसमा लागुऔषध कारोबारमा एक महिलासहित चार र वन्यजन्तु ओसारपसारमा १९ जना पुरुष पक्राउ परेका छन् । महाशाखाले आव ७१/७२ मा कर्तव्य ज्यान, लागुऔषध र वन्यजन्तु ओसारपसारमा ६१ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको थियो भने आव ७२/७३ मा ५९ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रहरी उपरीक्षक सहकुल थापाले कर्तव्य ज्यानको सम्बन्धमा महाशाखाले गहिरो अध्ययन गरिरहेको बताए । उनले भने, “उपत्यकामा मदिरापान सेवन र रिसइवीका कारण बर्सेनि धेरै कर्तव्य ज्यानका घटना भइरहेका छन् । यसलाई हामी गम्भीर रुपले अध्ययन गरिरहेका छौँ ।” थापाले आगामी दिनमा महाशाखाले यस्ता घटनाको थप अनुसन्धान गर्दै लैजाने स्पष्ट पारे ।