धरान / सरकारले सामाजिक सुरक्षा भत्ता पाउने प्रक्रियालाई सहज बनाएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता प्रक्रियालाई सहज बनाउँन सफ्टवेयर निर्माण गरेसँगै सुरक्षा भत्ता पाउनेहरुले एकवर्ष कुर्नु नर्पने भएको हो । सामाजिक सुरक्षा भत्ताका लागि योग्य नागरिकहरुले दरखास्त/निवेदन दिएको चौमासिक छाडेर दोस्रो चौमासिकबाट भत्ता पाउन थाल्ने व्यवस्था गरेको छ । सफ्टवेयर निर्माण पूर्व भत्ताका लागि योग्य ५ वर्ष मुनीका दलित बालबालिका, विधुवा/एकल महिला, ७० वर्ष माथिका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिक र लोपोन्मुख जातिले दरखास्त पश्चात भत्ता पाउन एकवर्ष कुर्नु प¥थ्र्याे । दरखास्त एकमुष्ट रुपमा एक वर्षमा लिने प्रचलन थियो । ‘अहिले सरकारले बनाएको व्यवस्थापन सूचना प्रणाली (एमआइएस) ले गर्दा दरखास्त दिएको अर्को चौमासिकमै भत्ता पाउने व्यवस्था गरेको छ ।’ धरान उपमहानगर सामाजिक सुरक्षा भत्ताका सम्पर्क व्यक्ति राजकुमार डंगोलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय पञ्जिकरण विभाग काठमाडौंले दिएको निर्देशन देखाउँदै भने । विभागले असार २८ गते नै सम्बन्धित निकायहरुलाई भत्ता पाउन योग्य नागरिकहरुलाई दरखास्त संकलन गर्नको लागि निर्देशन जारी गरेको थियो । उक्त निर्देशन मै ज्येष्ठ नागरिकको हकमा आर्थिक वर्ष २०७३/०७४ को अवधि भित्र र आव ०७४/०७५ को फागुन मसान्तसम्म उमेर पुग्नेको हकमा पनि दरखास्त लिन सक्ने भनी भनेको छ । एकल, विधुवा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको हकमा भने जुनसुकै बेला पनि दरखास्त लिन सकिने व्यवस्था विभागले गरेको छ । र, दरखास्त भएका व्यक्तिहरुले पछिल्लो चौमासिकमै भत्ता पाउने व्यवस्था गरेको छ । सरकारले ‘अनलाइन व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली’ नामक सफ्टेवयर मार्फत् यो व्यवस्था गरेको हो । र, विभागले लागू गर्न भन्दै यही बुधबार सम्बन्धित निकायहरुलाई पुनः निर्देशन दिएको छ । धरान उपमहानगरले गतवर्षबाटै धरान-८ मा ‘परीक्षण’ अवधि मान्दै दरखास्त लिन थालेको थियो । ‘सफल भएपछि अहिले अन्य वार्डहरुमा समेत लागू गरेका छौं ।’ एमआइएस सफ्टवेयरकै लागि काठमाडौंबाट खटिएका आइटी इन्जिनियर विज्ञानराज सत्यालले भने । उनका अनुसार अहिले धरान-८, १५, १६ र २४ नम्बर वार्डमा अनलाइनमार्फत् नै सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरिकहरुको व्यक्तिगत विवरण भर्ने गरिएको छ । अन्य वार्डहरुमा विस्तारै लागू हुने उनले बताए । अनलाइनमार्फत् प्रबिष्टी, नविकरण र अद्यावधिक गर्ने कार्य हुने सम्पर्क व्यक्ति डंगोलले बताए । अहिले धरानमा १० हजार ७ सय ७६ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने गरेका छन् । यस्ता भत्ता पाउनेहरुले हरेक वर्ष नविकरण गर्नु पर्ने प्रावधान छ । इन्टरनेटमार्फत् भरिने भएकाले पनि यही अनुसार सरकारले सम्बन्धित निकायहरुलाई भत्ता पठाउने व्यवस्था गरिरहेको छ । दरखास्त जुनसुकै बेलासमेत लिने गरेको सम्पर्क व्यक्ति डङ्गोलले बताए । भत्ता पाउन योग्य नागरिक भए पनि नविकरण नभएमा तुरुन्तै हटाउन सक्ने अधिकार धरान उपमहानगरलाई प्रत्यायोजना गरेको छ । यस अघिसम्म नविकरण भए/नभए पनि हटाउने अधिकार दिएको थिएन् । सरकारले आर्थिक वर्ष २०५२/०५३ देखि सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।