तरहरा / सुनसरी जिल्ला मालपोत कार्यालयमा अवैध काम हुने गरेको अर्को रहस्य खुलेको छ । मालपोत कार्यालयको मिलोमतोमा अवैध तरिकाले नामसारी गरी आएको जग्गा ठूलो रकम लिएर मालपोतले अवैध रुपमै पास गरेको खुलेको हो । साविक हाँसपोसा (हाल इटहरी–२५) मा रहेको मित्रकुमारी रिजालको ४ (ख) को कित्ता नम्बर ३०० को एक बिघा १८ कठ्ठा जग्गा छोरी नुतनकुमारी रिजालको नाममा नामसारी भई आएको र बिक्री गर्ने बेलामा आर्थिक चलखेल भएको रहस्य खुलेको हो । २०६७ सालमा दिवङ्गत भएकी मित्रकुमारीको नाममा रहेको जग्गा गत असार ८ गते नामसारी भएर नुतनको नाममा आएरर १३ गते बिक्री भएको थियो । नामसारी आंशिक नहुने, त्यसमा पनि छोराको नाममा नामसारी हुनुपर्नेमा छोरीको नाममा आर्थिक चलखेल गरेर नामसारी भएको कार्यालय स्रोतले बताएको छ । दुईजना छोरा हुँदाहुँदै सो जग्गा छोरी नुतनको नाममा आएको र सोधीखोजीसमेत नगरी असार १३ गते इनरुवाका पुनम तिम्सिना र सिन्धु भण्डारीका नाममा जग्गा बिक्री भएको थियो । तर अवैध रुपमा नामसारी भई आएको जग्गा अवैध तरिकाबाटै बिक्री भएको भन्दै नुतनका दाजुहरु निराजन रिजाल र किरणकुमार रिजालले आपत्ति जनाएपछि सो फाइल विभागले लगेको छ । कार्यालयले ठूलो रकम लिएर जग्गा नामसारी र पास गरेको स्रोतले बताएको छ । सर्जिमिनसमेत कीर्ते गरिएको र मालपोत कार्यालयले पनि कीर्ते गरेरै जग्गा बिक्री गरेको उनीहरुको आरोप छ । ‘सबैको अंश लाग्नुपर्ने जग्गा कसरी बैनीको नाममा मात्र नामसारी भएर पास भयो ?’ निराजनले प्रश्न गरे । मालपोतको चरम लापरवाहीका कारण जग्गा पास भएको उनको आरोप थियो । यसविरुद्ध जिल्ला अदालतमा मुद्दा परेको निराजनको भनाइ छ । जग्गा पास गर्दा राजश्वमा समेत भ्रष्टाचार भएको छ । जग्गाको घरबाटो सिफारिसमा पक्की बाटो भनेर इटहरी उपमहानगरपालिकाले सिफारिस गरे पनि नापी र मालपोत कार्यालयको मिलोमतोमा थोरै रकम लिएर जग्गा पास भएको खुलेको छ । सो जग्गाको मूल्याङ्कन करीब ३ करोड ९९ लाख भए पनि २ करोड ५० लाख रुपैयाँको मूल्याङ्कन गरी राजश्वमा चलखेल गरेको पाइएको छ । जिल्ला मालपोत कार्यालयका प्रमुख विनोदकुमार पोखरेलले भने मालपोत कार्यालयमा निर्णय गरेर जग्गा पास भएको बताए । हकदावीको सूचना दिए पनि कोही नआएका कारण जग्गा पास भएको तर सम्पूर्ण कागजात विभागले लगेको उनको भनाइ छ । अदालतमा मुद्दा परेको कारण जग्गा पनि रोक्का भएको उनले जनाए । अख्तियारद्वारा स्थलगत अनुगमन शुरु जग्गा पास गर्ने क्रममा मालपोतमा राजश्वमा व्यापक भ्रष्टाचार हुने गरेको भन्दै अख्तियारमा उजुरी परेसँगैै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान शुरु गरेको छ । आइतबार अख्तियारको टोलीले इनरुवास्थित मालपोत कार्यालय पुगेर अनुसन्धान शुरु गरेको हो । मालपोतमा हुने भ्रष्टाचारबारे ब्लाष्टमा निरन्तर समाचार प्रकाशन भइरहेका छन् । अनुसन्धानको क्रममा अख्तियारले आवश्यक केही कागजातसमेत नियन्त्रणमा लिएको छ । अख्तियारका क्षेत्रीय प्रमुख रवीन्द्रप्रसाद शर्माले आइतबार स्थलगत अनुसन्धान शुरु गरेको जनाए । जिल्ला प्रशासन कार्यालयले पनि मालपोत कार्यालयमा हुने भ्रष्टाचारबारे लिखित जवाफ माग गरेको छ । ‘सर्वसाधारणको जनगुनासो कसरी बढिरहेको छ ? सरकारी राजश्वमा किन भ्रष्टाचार भयो ?’ भन्दै मालपोत कार्यालयसँग लिखित जवाफ माग गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बताए । चापागाईंले भने, ‘ब्लाष्टमा समाचार प्रकाशन भएसँगै हामीले मालपोत कार्यालयलाई लिखित जवाफ माग्दै पत्र पठाएको छौ । लाखै रुपैया राजश्वमा किन धादली भयो भन्ने विषयमा कार्यलयको जबाफ आए सँगै अनुसन्धान थाल्छौ प्रजिअ चापागाईले भने । थोरै राजश्व लिएको र सेवाग्राहीको रकम हिनामिना गरेको भए कानुन अनुसार कार्वार्ही हुन्छ प्रजिअ चापागाईको भनाई थियो । हामीले मागेको लिखित स्पष्टीकरण आए सँगै कानुनी कुरा अगाडी वढ्ने उनले वताए । लेखापढी ब्यावसायीहरुको समेत चरम लापरवार्ही हुghusने गरेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउँन माग गदै आएका छन ।