धरान / सिंगापूर पुलिसबाट अवकास प्राप्त गरेका भूपूहरुले धरानमा ‘बहुउद्देश्य सामुदायिक भवन’ निर्माण गर्ने भएका छन् । भवनको मङ्गलबार सिंगापुर पुलिस फोर्सका सुपरिटेन्डेन्ट मार्क मिल फोर्ड इडवार्ड र डिएसपी टु उर्इ कुन तोहले संयुक्त रुपमा सिलान्यास गरे ।

साढे दुई तले भवन दुईवर्षमा पूरा गर्ने योजनामा भवन निर्माण समिति रहेको छ । करिव २ करोडको लागतमा निर्माण गरिन लागिएको भवनको पहिलो फ्लोरमा मिटिङ हल हुने छ भने दोस्रो तलामा चारवटा कोठा र तेस्रो तलामा पनि मिटिङ हल निर्माण गरिने भवन निर्माण समितिका अध्यक्ष प्रेमबहादुर लिम्बूले बताए । समितिको दाबी अनुसार सिंगापुर पुलिस फोर्समा रहेका भूपूहरुले निर्माण गर्न लागेको सामुदायिक भवन यो नै पहिलो हो । सिंगापुर भूपू गोर्खा फाउण्डेशनले भवनको निर्माण गरिरहेको हो ।
तस्बिरहरुः ब्लाष्ट/उपेन्द्र चाम्लिङ
नेपालीहरु सिंगापुर पुलिस फोर्समा जागिर खान थालेको ६७ वर्ष बितिसकेको छ । र, पनि भवन निर्माण तर्फ कसैले पनि ध्यान दिएका थिएनन् । धरान–१९ जिमी चोकदेखि ५ सय मिटर मुनी २ कठ्ठा ६ धुर जग्गामा भवन निर्माण गरिन लागिएको हो । २०६९ सालदेखिकै योजना रहे पनि भर्खरै मात्र यो सम्भव भएको हो । भवन सिलान्यास पूर्व च्याब्रुङ बजाउँदै अतिथिको स्वागत गरिएको थियो । सिंगापुर पुलिस फोर्सबाट अवकास प्राप्त पुलिसहरुले भवन बन्न लागेकोमा खुसी ब्यक्त गरेका छन् । बेलायत लाहुरेहरुको भने धरानमा थुप्रै भवनहरु रहेका छन् ।