काठमाडौँ/बागमती किनारको दक्षिणढोकापुलदेखि गोकर्णसम्मको सडक खाल्डाखुल्डी भएर सवारी साधन गुडाउन नसकिने अवस्थामा पुगेपछि मर्मत गराउन स्थानीयवासी कस्सिएका छन् । सडक बिग्रेर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुन थालेपछि आज यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयालको संयोजनमा सरोकारवाला निकायका प्रतिनिधि र सडक उपभोक्ताबीच भएको छलफलमा स्थानीयले मर्मतका लागि लाग्ने प्रतिबद्धता जनाएका हुन् । छलफलले आजैदेखि सडक मर्मत सुरु गर्ने निर्णय गरेको छ । सडक मर्मतका लागि निर्वाचन क्षेत्र विकास विशेष कार्यक्रमबाट रु पाँच लाख निकासा गर्ने निर्णय गरिएको सांसद फुयालले बताए । “सडक मर्मतका लागि स्थानीय गणेश श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति पनि गठन गरिएको छ, समितिले आजैदेखि ग्राभेल ल्याएर मर्मतको काम गर्नेछ, भदौ १ गते मर्मतको समीक्षा कार्यक्रम राखिएको छ” उनले भने । डिभिजन सडक कार्यालय काठमाडौँले यसअघि नै यो सडक निर्माणका लागि प्रतिबद्धता जनाए पनि काम नभएको उनले बताए । छ महिना अघिदेखि दक्षिणढोका–गोकर्ण बीचमा ढल फुटी सिधै बागमतीमा मिसिँदा पनि बागमती समितिले व्यवस्थापन नगरेकोमा कार्यक्रमका सहभागीले गुनासो गरेका थिए ।