जनकपुरधाम/ जनकपुर क्षेत्रका ग्रामीण सडकमा सञ्चालन हुँदै आएका बस सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । सडक अत्यन्तै जीर्ण भए पनि सम्बन्धित निकायले ध्यान नदिएको र जोखिमपूर्ण सडकमा दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बस सेवा बन्द गरिएको जनाइएको छ । जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार जनकपुर क्षेत्रको सघारा, पर्साही, यदुकोहा, लोहरपट्टी र भ्रमरपुरा ग्रामीण सडकमा बस सञ्चालन गर्न बन्द गरिएको हो । सङ्घका अध्यक्ष मनोज चौधरीले जनकपुर–भिठ्ठामोड र जनकपुर–जटही सडकको अवस्था पनि जीर्ण रहेकाले सम्बन्धित निकायले यी सडकको मर्मत नगरेमा यस सडकमा समेत बस सञ्चालन बन्द गरिने बताए । यी सडक तीन महिनादेखि मर्मत हुन नसकेको, वर्षायाममा बस सञ्चालनमा समस्या र अधिक दुर्घटना हुने गरेको बताइएको छ ।