बैतडी/सर्पले डसेर एक बालिकाको गए राति मृत्यु भएको छ । दुर्गम तल्लोस्वराडमा पर्ने महाकाली गाविस–९ बछालाका हिक्मत साउदकी सात वर्षीया द्रौपदीको ज्यान गएको स्थानीयवासी मोहनबहादुर चन्दले राससलाई जानकारी दिए । गएराति ८ बजे घरमा किताब पढिरहेका बेला विषालु सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको थियो । बालिका स्थानीय भगवती निमाविमा कक्षा २ मा अध्ययनरत थिइन् ।