
काठमाडौं / पोल्यान्डस्थित भारतीय राजदूतावासले ‘अतुल्य भारत’ अभियानको ब्यानरमा नेपाली हिमशृङ्खलाको तस्विर राखेर प्रचार गरेको पाइएको छ । उक्त तस्विर नेपालको अन्नपूर्ण हिमशृङ्खलाअगाडि नेपाली महिलाले योगाभ्यास गरेको भन्दै एक नेपालीले आफ्नो फेसबुकमा लेखेपछि भारतदेखि पोल्यान्डसम्म हङ्गामा भएको छ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर पोल्याण्डको राजधानी वार्सास्थित भारतीय दूतावासअगाडि राखिएको साइनबोर्डमा अन्नपूर्ण हिमशृङ्खलाको तस्विरसँगै योग मुद्रामा रहेकी महिलालाई देखाउन खोजिएको कुरा भारतीय सञ्चार माध्यममा पनि चर्चाको विषय बनेको छ । उक्त फोटोमा ‘अतुल्य भारत’ लोगो देशको पर्यटन विभागको मार्केटिङ अभियानको ब्रान्ड अङ्कित छ । फेसबुकमा ललितपुरका राजेश श्रेष्ठले ‘अन्नपूर्ण भारतीय सीमाभन्दा टाढा उत्तर–पश्चिम नेपालको हिमालयमा अवस्थित छ’ भनेर औंल्याएपछि श्रेष्ठले गरेको फेसबुक पोस्ट चाँडै भाइरल भयो । भारतले कपोकल्पित प्रचार गरेपछि त्यसको आलोचना पोल्याण्डसम्म पुगेको छ । तत्कालै भारतीय राजदूत अजय विसरियाले ब्यानर हटाएका छन् । त्यतिले नपुगेर त्रुटि औंल्याउने नेपालीसँग उनले क्षमा याचना गर्दै धन्यवाद पनि दिएका छन् ।