विजयपुर/धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा गार्डहरुको सञ्चय कोष गायब भएको बिषयमा स्थानिय राजनैतिक दलहरुले चासो देखाएका छन् ।उनीहरुले मजदुरहरुको सञ्चयकोषको रकम तत्काल कोषमा दाखिला गरि सार्बजनिक गर्न केटिएम सेक्युरीटी सर्भिसेज प्रालीलाई दलहरुले दबाब दिएका छन् ।
प्रतिष्ठानको सुरक्षा ठेक्का लिएको केटिएम सेक्युरिटी सर्भिसेज प्रालीले प्रतिष्ठानमा कार्यारत सुरक्षा गार्डको सञ्चयकोष गायब गरेको समाचार शनिबार ब्लाष्टले सार्बजनिक गरेको थियो । नेकपा एमाले धरानका अध्यक्ष तारा सुब्बाले ‘सुरक्षा गार्डहरुको सञ्चयकोष लगायतका बिषयमा सार्बजनिक भएको समाचारले आफुहरुको ध्यानकर्षण भएको जनाएका छन् ।सुरक्षा मजदुरको सञ्चयकोष बाफतको रकम तत्काल दाखिला गरि सार्बजनिक गर्न हामी कम्पनीलाई आग्रह गछौं सुब्बाले भने । नेपाली काङग्रेशका जिल्ला सचिब सुजेन्द्र तामाङले पनि सुरक्षा गार्डहरुको सञ्चयकोषको रकम तत्काल सार्बजनिक गर्न केटिएमको ध्यानाकर्षण गराएका छन् । सुरक्षा गार्डहरुको सञ्चय कोष सार्बजनिक नगरिनु ‘अख्तियारको पनि दुरुपयोग गर्नु हो ’तामाङले भने ‘केटिएमले सञ्चय कोषको रकम तत्काल सार्बजनिक गर्नु पर्छ ।’

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा धरान क्षेत्रका इन्चार्ज अइन्द्र बिक्रम बेघाले मजदुरहरुको सञ्चयकोष कहाँ छ भनेर मजदुरले नै थाहा नपाउनु हदै सम्मको अन्याय भएको भन्दै मजदुरको सञ्चयकोष बाफतको रकम तत्काल सार्बजनिक गर्न माग गरेका छन् । उनले मजदुरको पारिश्रमीक काटेर ब्यक्तिगत प्रयोग गर्नु कानुनी रुपमा अपराधनै भएको बताए । उता संघिय समाजबादी फोरम नेपालका सुनसरी उपाध्यक्ष पारश काङमाङ राईले पनि मजदुरहरुको सञ्चय कोषका बारेमा मजदुरहरुले पनि थाहा नपाउनु आश्चर्य भएको भन्दै सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराएका छन् । उनले मजदुरहरुको सेवा सुबिधा पारदर्शी बनाउनु पर्ने उनले जनाएका छन् । प्रतिष्ठानमा कार्यरत सुरक्षा गार्डहरुको झण्डै एक बर्ष देखि आफ्नो सञ्चय कोषको रकम कहाँ छ भन्ने पत्तो नपाएको बिषयलाई ब्लाष्टले प्राथमिकताका साथ सार्बजनिक गरको। थियो । सञ्चयकोष काटिएका सुरक्षा गार्डहरुको सञ्चयकोष बाफतको झण्डै २२ लाख रुपैया गायब भएको केटिएम सम्बद्ध श्रोतले जानकारी दिएको छ ।
आफुहरुको सञ्चयको कोषको बारेमा जानकारी माग्दा ‘म दिन सक्दिन जे गछौ गर’ भन्दै प्रतिकृया दिएको एक सुरक्षा गार्डले बताए । केटिएमका कार्यकारी निर्देशक रामेश्वर शाहले भने कानुन अनुसार मजदुरलाई दिनु पर्ने सम्पुर्ण सुबिधा आफुले दिएको भन्दै सञ्चयकोष गायब नभएको बताए । ब्लाष्टले प्रतिष्ठान सँग भएको सम्झौता पत्र र सञ्चयकोषमा रकम दाखिला गरेको भौचर उलब्ध गराउन आग्रह गर्दा उनले आफु दिन नसक्ने बताएका थिए ।