दमक/झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ । cut off power suply प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको बिजुलीको लाइन काट्न केन्द्रको निर्देशन आएपछि यहाँको वितरण केन्द्रले पनि त्यस्ता कालोसूचीका ग्राहकका लाइन काट्न थालेको हो । केन्द्रले भदौ ५ गतेदेखि नै यस क्षेत्रमा लामो समयदेखि ठूलो बक्यौता रहेका ग्राहकको बिजुली धमाधम काटिरहेको जनाएको छ । अहिलेसम्म केन्द्रले दमकमा १२ वटा ग्राहकको बिजुलीको लाइन काटिसकेको तथा अन्य ठाउँमा समेत सो कार्य जारी रहेको केन्द्रका प्रमुख सुरेन्द्र शाहले बताए। शाहका अनुसार केन्द्रले दुई दिनमा दमकमा बिजुलीको लाइन काटेको र ती ग्राहकको विद्युत् महसुल रु १३ लाख ८७ हजार ६९६ हजार बक्यौता रहेको छ । त्यस्तै, मङ्गलबार केन्द्रको टोलीले गौरादह क्षेत्रका १२ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ जसको बक्यौता रकम करिब रु पाँच लाख रहेको छ । दमक वितरण केन्द्रअन्तर्गत बक्यौता भएको जम्मा रकम रु सात करोड २७ लाख रहेको जनाइएको छ । त्यसमा रु ५० लाख बक्यौता रहेका ग्राहकको लाइन काट्नु पर्ने अवस्था रहेको केन्द्रका लेखा अधिकृत मदन पौडेलले जानकारी दिए । जिल्लाको माइपश्चिम सहित पूर्वी मोरङको उर्लाबारी र पथरी क्षेत्रसम्म केन्द्रको कार्य क्षेत्र पर्ने ती क्षेत्रमा हाल ५० हजारभन्दा बढी ग्राहक सङ्ख्या रहेका छन् ।