pakrau-chorलहान / कार्यालय सिरहाका प्रमुख ज्ञानराज लम्साललाई ४० हजार घुस रकमसहित अख्तियारको टोलीले बुधवार पक्राउ गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाको प्रमुख रवीन्द्रप्रसाद शर्मा नेतृत्वको टोलीले लम्साललाई रङ्गे हात पक्राउ गरेको हो । उनीे सिरहा –१३ मल्हनीया गम्हरीयाका दिपु साहसँग ४० हजार घुस रकम लिदै गर्दा पक्राउ परेका हुन । मालपोत कर्मचारीको लापरबाहीले दीपुको एक कठ्ठा जग्गा हराएको थियो । हराएको जग्गा खोजी दिन मालपोत, नापी, जिल्ला प्रशासन लगायत कार्यालय पाँच वर्षदेखि धाइरहँदा पनि सुनुवाई भएको थिएन । मालपोतका कर्मचारीहरु ३० हजारदेखि एक लाखसम्म पैसा खर्च गरे हराएको जग्गा मिलाई दिने बताउदै आएको साहले सुनाए । मालपोत कार्यालयका नायव सुब्बा महारुद्र यादवले जग्गा खोज्न २५ हजार रुपैयाँ माग गरेको अडियो रेकर्ड उनले सुरक्षित राखेका छन् । उनले घुस मागेको अडियो रेकर्ड प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरलाई समेत सुनाएर न्यायको लागि याचना गरेका थिए । प्रमुख जिल्ला अधिकारी मानन्धरले तत्काल फोन गरेर मालपोत प्रमुख लम्साललाई सेवाग्राहीसँग घुस माग्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिए पनि लम्सालले प्रजिअको निर्देशनलाई अटेर गरेका थिए । मालपोत प्रमुख लम्सालले घुस माग्ने नायव सुब्बा यादवलाई उल्टै निजामति कर्मचारी दिवसको अबसरमा भव्य कार्यक्रम गरेर कार्यालयको उत्कृष्ट कर्मचारीको उपाधिसहित नगद ५ हजारले पुरस्कृत गरेको बताइएको छ । साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा नायव सुब्बा यादवले घुस मागेको अडियो रेकर्डसहित उजुरी दिए पछि अख्तियारले छापा मारेको हो ।