धरान /भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित तिरहुतिया गाछीमा आज नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रपति मुखर्जीलाई जनकपुरवासीको तर्फबाट जनकपुर उपमहानगरपालिकाद्वारा अभिनन्दन गरिएको हो । राष्ट्रपति मुखर्जीले अभिनन्दन ग्रहण गर्दै प्राचीन नगरी जनकपुरमा पाएको स्वागत सत्कारले आफू अभिभूत भएको बताए ।
उनले देवी सीता र राजा जनकको जन्मभूमि जनकपुर भारतका लागि आदरणीय तथा संस्कृति, ज्ञान, अन्वेषणका लागि प्रोत्साहन गरिरहेको प्रशङ्ग उल्लेख गरे । जनकपुर संसारका विद्वानको ज्ञान भूमि भएको चर्चा गर्दे राष्ट्रपति मुखर्जीले “हिन्दू, बौद्ध, जैन र महावीर धर्मका लागि उर्वर सङ्गमस्थल जनकपुर साझा संस्कृतिको उहाहरण रहेको छ भने ।” राष्ट्रपति मुखर्जीले ऋग्वेदको महत्वपूर्ण खोज पनि जनकपुरमा भएको छ भन्दै साझा परम्परा, समृद्धि र विरासतलाई उचाइमा पु¥याउनुपर्ने धारणा राखे ।
उहाँले भारत सरकारद्वारा जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाको निर्माण, जनकपुरको विकास, वीरगन्ज र विराटनगर प्रवेश मार्गमा आधुनिक जाँचपोस्टको निर्माण तथा पर्यटन विकास कार्ययोजनाबारे जानकारी गराउँदै यसले नेपालको व्यापार र पर्यटन क्षेत्रको विकासमा सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।राष्ट्रपति मुखर्जीले पूर्वज विरासतको रक्षा, प्रेम, सद्भाव, भगिनी सम्बन्ध तथा जनता र सरकारको सम्बन्धलाई परस्पर बलियो र विस्तारको प्रतिबद्धतामा पनि जोड दिए । उहाँले गान्धीवादी नेता स्वर्गीय महेन्द्रनारायण निधिको जीवन दर्शनले आफू प्रभावित रहेको पनि बताए। सो अवसरमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति मुखर्जीलाई स्वागत गर्दै जनकपुरको पर्यटकीय प्रवद्र्धनमा भारत सरकारको सहयोगको आग्रह गरे। उनले जनकपुरमा भारतीय सरकारद्वारा सञ्चालित योजनालगायत बहुआयामिक विकासतर्फ राष्ट्रपति मुखर्जीलाई ध्यानाकर्षण गराए । भारत र जनकपुरवासीको हृदय र मानसपटलमा अगाध स्नेहको सम्बन्ध रहेको चर्चा गर्दे उपप्रधानमन्त्री निधिले जनकपुरलाई पर्यटकीय सूचीमा सूचीकृत गरिएमा शीध्र उपलब्धि हासिल हुनसक्ने बताए । जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले राष्ट्रपति मुखर्जीलाई अभिनन्दन र नगरको साँचो प्रदान गर्दे विज्ञान प्रविधि, उद्योग व्यवसाय, ज्ञान विज्ञान तथा सांस्कृतिक, आध्यात्मिक र पर्यटन केन्द्रका दृष्टिले जनकपुरको विकासमा भारत सरकारको सहयोगको आशा गरे ।
सो अवसरमा राष्ट्रपति मुखर्जीले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग जनकपुरबारे जिज्ञासा र जानकारी पनि लिएका थिए । समारोहमा राष्ट्रपति मुखर्जीको सम्मानमा मिथिला नाट्यकला परिषद्का कलाकारले ‘इएह छी हमर’ जनकपुर नामक गीतको स्वागत नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति मुखर्जीलाई वृहत्तर जनकपुर विकास परिषद् र जनकपुर उद्योग वाणिज्य सङघबाट जानकी मन्दिरको प्रतिमा उपहार प्रदान गरिएको थियो । यसअघि राष्ट्रपति मुखर्जी तिरहुतिया गाछी अाइपुग्दा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि, पर्यटनमन्त्री जीवनबहादुर शाही, सांसद , पूर्व सांसद र राजनीतिक दलका प्रतिनिधिले स्वागत गरेका थिए ।