ललितपुर/ सरकारले सोमबार दोस्रोपटक बस्ने मन्त्रीपरिषद् बैठकबाट राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरे पनि कांग्रेसभित्रका आंकाक्षीलाई व्यवस्थापन गर्न अप्ठ्यारो परेको छ । सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट ७, माओवादीका ४ र राप्रपाका २ जना राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी भएको हो ।
तर, कांग्रेसभित्र अगाडि सारिएका नाममा पार्टीभित्र विवाद भएपछि नियुक्तिमा अप्ठ्यारो भएको कांग्रेस निकट स्रोतले जानकारी दियो । कांग्रेसको तर्फबाट रामचन्द्र पौडेलबाट आएका नाममा बढी विवाद छ । रामचन्द्र पौडेलले योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल र डा. दिनेश भट्टराईको नाम पठाएका थिए । पोखरेल र भट्टराई यसअघि पनि विभिन्न अवसर पाइसकेकाले नयाँ व्यक्तिको नाम पठाउनुपर्ने दबाब कांग्रेस भित्र आएको स्रोतले बतायो ।
उनीहरुबारे रामचन्द्र पौडेल पक्षधरबाटै नियुक्ति नगर्न दबाब आएको कांग्रेस निकट स्रोतको दाबी छ । “भट्टराई यसअघि नै राजदूत र सुशील कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार हुनुहुन्थ्यो । अहिले पनि उहाँ परराष्ट्र मामिला अध्ययन केन्द्र (आईएफए)को पुनर्संरचनाको काममा हुनुहुन्छ । त्यसैले नयाँ व्यक्तिलाई पठाउनुपर्ने दबाब आएको छ ।”त्यस्तै, पोखरेल पनि योजना आयोगको उपाध्यक्ष र अन्य विभिन्न नियुक्ति लिइसकेकाले विवाद देखिएको स्रोतको भनाइ छ । सोमबार बेलुका निर्वाचनको मिति घोषणा हुने भएपछि दिउँसो बस्ने मन्त्रीपरिषद्ले राजदूत लगायत विभिन्न नियुक्ति गर्ने तयारी गरेको हो ।
कांग्रेसको तर्फका व्यक्तिको नाम टुंग्याउन सोमबारै बिहान परराष्ट्रमन्त्री प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । स्रोतका अनुसार डा. विश्वम्भर प्याकुरेल, यज्ञ अधिकारीबारे भने कुनै विवाद छैन । त्यसैगरी डा. शम्भुराम सिम्खडा, दिव्यमणी राजभण्डारी, भीम उदास, कृष्ण ज्ञवाली र महादेव यादवको कांग्रेसमा चर्चा चलेको छ ।स्रोतका अनुसार चर्चामा आएका अनुहारबारे नै सभापति देउवा र परराष्ट्र मन्त्रीबीच छलफल भएको हो ।
मन्त्रीले अझै को–को भन्ने निश्चित नभएको बताएका थिए । “मन्त्रीपरिषद् बस्ने बेलासम्म पनि टुंग्गो नलागे पछि गर्न पनि सकिन्छ भन्नुभएको छ,” स्रोतले भन्यो ।निर्वाचनको मिति घोषणा भएपछि ठूला नियुक्ती गर्न नमिल्ने भएकाले त्यसअघि आवश्यक सबै नियुक्ती हुने बताइएको छ । तर, राजदूतबारे टुंग्गो नलाग्न पनि सक्छ ।
ओवादीले भने केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सिफारिस भएकै व्यक्तिहरुलाई दोहोराउने भएको छ । माओवादीबाट लक्की शेर्पा, युवनाथ लम्साल, महेन्द्रबहादुर सिंह र पदम सुन्दास छन् । यता राप्रपाले यसअघि खगेन्द्र बस्नेत र निरन्जन थापाको नाम सिफारिस गरेको थियो । तर, उसले तीन जनाको दाबी गर्दै प्रतिभा राणाको नाम पनि अघि सारेको छ । लामो समयदेखि बंगलादेश, दक्षिण कोरिया, ओमन, इजरायल, कतार, साउदी अरब, जापान, डेनमार्क, अष्ट्रेलिया, बहराइन, रुस, श्रीलंका र म्यानमारमा राजदूत खाली छन् ।