राजविराज / नेपाल पत्रकार महासङ्घ, सप्तरीका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय उपाध्यक्ष शिवहरिप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता मुक्तिनाथ भट्टराईको ९२ वर्षको उमेरमा शनिबार राति करीब साढे ११ बजे राजविराज नगरपालिका–६ स्थित निवासमै निधन भएको हो । हिन्दू परम्पराअनुसार आइतबार सप्तकोशी ब्यारेजमा मृतकको अन्तिम संस्कार गरिएको छ । ब्लड प्रेसरको समस्या झेल्दै आएका उनलाई चिकित्सकले घरमै उपचार सेवा दिँदै आएका थिए । जेठा छोरा शिवहरिले उनलाई मुखाग्नि दिएको पारिवारिक स्रोतले जनाएको छ । मृतकका पत्नी बालकुमारी, दुई छोरा शिवहरि र कृष्णहरि तथा छोरी इन्दिरा छन् । सरकारी सेवाबाट अवकाश प्राप्त भट्टराई ज्योतिषको काममा समेत दख्खल राख्दथे । यसैबीच, पत्रकार महासङ्घको सप्तरी शाखाले आइतबार विज्ञप्ति जारी गरी मृतक भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।