
फाइन प्रिन्टले मङ्गलबार भानुचौकमा ‘हरिबहादुर’ पुस्तकका लेखक हरिवंश आचार्यसँग साक्षात्कार कार्यक्रमका क्रममा उनले ‘हरिबहादुर’ पुस्तक हातमा च्यापेका थिए । यसबाट पनि युवाहरुमा पनि पठन संस्कृतिले गाँज्न थालेको भान हुन्थ्यो । उनले पुस्तक किन्नुको कारण खुलाउँदै भने, ‘चिना हराएको मान्छे पढ्दा नै उहाँको (हरिवंश) को लेखनी मन परेको थियो । त्यसैले पुस्तक किने ।’ के सुन्नु भा’छ यस किताबको बारेमा भन्ने जिज्ञासामा उनले अघि थपे, ‘त्यस्तो खास केही सुनेको भन्दा पनि अगाडीको पुस्तक एकदमै मन परेको थियो । यो पनि राम्रो होला भनेर किनेको हुँ ।’ पुस्तक बोकेको तस्बिर खिच्न खोज्दा केही धकाए । तर, अन्त्यमा उनी राजी भए ।
उनी नजिकै उनका समकक्षी उज्वल कोइराला थिए । उनको साथमा पनि ‘हरिबहादुर’ किताब थियो । ‘हरिबहादुर’ भित्र के छ भन्ने बारेमा उनलाई पनि उति ज्ञान रहेनछ । तर, चिना हराएको मान्छेको लेखनीले उनलाई तानेको रहेछ । उज्वललाई हरिवंशको कलाकारिता मात्रै हैन, लेखनी पनि उत्तिकै दमदार लाग्दो रहेछ । गफका क्रममा थाहा भयो ।
उनले थपे, ‘उहाँको कलाकारिता मात्रै हैन, लेखनी पनि राम्रो छ ।’ पहिलो पुस्तक ‘चिना हराएको मान्छे’ बाट चर्चित बन्न पुगेका हरिवंशको यो दोस्रो पुस्तक ‘हरिबहादुर’ ले थप युवाहरुको मनमा वास गरेको छ । दोस्रो पुस्तकको प्रचारमा देश दौडाहाका क्रममा धरानमा पनि निःशुल्क कार्यक्रम गरिरहँदा बढीजसो युवायुवतीहरुकै हातमा पुस्तक देखिन्थ्यो ।
अझ कतिपयले त पुस्तक किनेर यसअघि नै पढिसकेका रहेछन् । कार्यक्रमको क्रममा प्रस्तोता सविना कार्कीले पुस्तक बारे ‘क्वीज’ गर्दा धरानकै अर्का युवा प्रविण राईले फ्याट्टै उत्तर दिए । जसबापत गिफ्टसमेत जित्न सफल भए । प्रश्न थियो, ‘किताब भित्रको हरिबहादुरले मनपराएकी एउटी केटीको नाम भन्नु पर्ने थियो । जो हरिबहादुरको पछि श्रीमतीसमेत हुन पुग्छे ।’ उनले हात उठाउँदै उत्तर दिन सफल भए । त्यसो त उनीभन्दा अघि अर्की एक युवतिले पनि उत्तर दिएकी थिइन् । तर, प्रस्तोता कार्कीले राखेको नियमका कारण उनी चुकिन् । प्रस्तोता कार्कीले कसैलाई जवाफ आएमा सुरुमा हात उठाएर अनि मात्रै जवाफ दिने भनेर निमय राखेकी थिइन् । तर, ती युवतीले हात उठाउनु भन्दा अघि नै उत्तर दिइन जसका कारण उनी ‘छनौट’ मा परिनन् । परे प्रविण राई ।
यसैबाट पनि युवा पुस्ताहरुमा पुस्तक क्रेज निक्कै बढेको महसुस गराउँथ्यो । युवाहरुको हातहातमा पुस्तक पुगिरहँदा पुस्तक बिक्रीका लागि बसेका धरानका मैनाली पुस्तक पसलका सञ्चालक गोविन्द मैनाली भन्दै थिए, ‘युवा, प्रौढ सँबैले पुस्तक किनिरहेका छन् ।’ उनका अनुसार करिव ३ सय प्रति भन्दा बढी बिक्री भएको छ । केही समय त उनले पुस्तक बिक्री गर्नसमेत भ्याएनन् ।
३० प्रतिशत छुट दिएका कारण पनि पुस्तक राम्रैसँग बिक्री भएको उनको भनाइ छ । एकातिर कलाकार त्यसमा पनि देशले मानेका कलाकारले निकालेको पुस्तक भनेपछि खरिद नर्गने त कुरै भएन् । कलाकारको कलाकारितासँगै लेखनीलाई असाध्यै मनपराएका जनम र उज्वलजस्ता पात्र अरु पनि थिए ।