मधुमल्ला/मोरङको उर्लाबारी नगरपालिका–१ बाट अवैध रूपमा सञ्चालित स्काभेटरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
सोमबार उर्लाबारी नगरपालिका–१ मिक्लुङ खोलाबाट बा. २ क. ९३८६ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिम्सिनाले जानकारी दिए । जिल्ला समन्वय समिति मोरङको आदेशअनुसार जिल्ला समन्वय समितिको अनुमतिबिना सञ्चालनमा आएको स्काभेटर र जेसिबीलगायतका सामग्री नियन्त्रणमा लिएको उनले जनाए ।
जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले खोलाजन्य तथा वन क्षेत्रभित्रबाट उत्खनन् तथा प्रयोग गर्दा स्थानीय तहले जिसससँग अनुमति लिई मेसिनरी सामग्री प्रयोग गर्न पाउने बताए ।
यस्तै जिससले सोमबारनै केराबारी गाउँपालिकाको आमचुङ राष्ट्रिय वनबाट पनि जेसिबी नियन्त्रणमा लिएको उनले बताए । साथै मोरङ सबै स्थानिय तहमा स्थलगत निरीक्षण गरिने जिसस संयोजक पोखरेलले जानकारी दिए ।