विराटनगर/ लक सिस्टम गरिएको ट्याङकरबाट डिजेल चोरीमा संलग्न भएको आरोप लागेका विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालय प्रमुख दिनेश यादवले चोरीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । नेपाल
आयल निगमको प्रदेश कार्यालय विराटनगरतर्फ आएको ट्याङ्करबाट तेल चोरी हुनु ढुवानीकर्ताकै दोष रहेको दाबी गरेका छन् । तेल चोरीमा संलग्न चालक तथा ढुवानीकर्तालाई प्रतिबन्ध लगाउँदै चोरी भएको दुई हजार ४ सय ८४ लिटरको दोब्बर मूल्य चार लाख ९३ हजार ९१८ रुपैयाँ जरिवाना गराएको यादवले बताएका छन् ।
बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी यादवले मंसिर ६ गते कम तेल (डिजेल) ढुवानी गर्ने को १ ख ५९६५ नम्बरको ट्यांकरका मालिक सुखदेव सिंह र चालकलाई जरिवाना गरी ढुवानीमा प्रतिबन्ध लगाएको बताएका हुन् ।
यादवले सिंहले सञ्चालन गरेका ११ वटै ट्याङ्करलाई रोक लगाएको जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा यादवले तेल चोरी प्रकरणमा आफ्नो विषयलाई लिएर विभिन्न टीकाटिप्पणी भएको भन्दै सचेत भएर समाचार सामाग्री प्रकाशन प्रसारण गर्नसमेत आग्रह गरे ।
ताल्चा लागेकै अवस्थामा डिजल चोरी भएको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै यादवले त्यस विषयमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको बताए । घटनाको जाँचबुझ भइरहेकोले त्यसबारे थप बोल्न नमिल्ने उनले बताए ।
तर, ट्यांकरको तालाको एउटा साँचो नेपाल आयल निगम प्रमुख र अर्को भारतको बरौनी डिपोका प्रमुखसँग हुने भएकोले तेल चोरीमा यादवको संलग्नता रहेको आरोप लागिरहेको छ । तेल चोरीको विषयमा छानबिन गर्न निगमको केन्द्रीय कार्यालयबाट उपनिर्देशक अञ्जना पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिले छानबिन गरी मंसिर १४ गते काठमाडौं फर्किएको भए पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छैन । तेल ढुवानी गर्दा अधिक मात्रामा तेल चोरी हुन थालेपछि निगमले ताल्चा लगाउने ‘सिस्टम’ सुरु गरेको थियो । तर, ताल्चा लगाएकै अवस्थामा तेल चोरी भएपछि निगम नै विवादमा मुछिएको छ ।