बेलबारी/ मोरङको केराबारी ९ स्थित भलुवा खोलाबाट मापदण्ड विपरित उत्खनन् गरेको पाइएको छ ।  खयरघारी तथा देवीझोडा आसपासमा मापदण्ड भन्दा बढी गहिरो पारेर खोला उत्खनन् भरहेको स्थानीय दाबी गर्छन् ।

मापदण्ड अनुशार भलुवा खोला डेडमीटर मात्र गहिराई खन्ने वातावरण परीक्षण मूल्याङ्कन (आईईई) प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनभन्दा बढी उत्खनन् गरिएपछि त्यसलाई नियन्त्रण रोक्न गाउँलेहरु सम्वन्धित निकायमा जाने तयारी गरिरहेका छन् ।

सोमबार केराबारी ९ खयरघारीका बासिन्दाहरुले एक भेला भई उत्खनन् रोक्न र चुरेक्षेत्र भएको ढुंगा चोरी रोक्न सम्बन्धित निकायमा जाने निर्णय गरेको स्थानीय सनबहादुर बस्नेतले बताए ।  भलुवा खोला चाहिनेभन्दा बढी उत्खनन् गरेको विषयमा जिल्ला समन्वय समितिले समेत अवलोकन गरेका थिए ।

समितिका अध्यक्ष नरेश पोख्रेलको नेतृत्वमा आएको टोलीले एकसाता अगाडि निरीक्षण गरेका थिए । टोलीले निरीक्षण गरेको एकसाता पछि पुन: खोला खन्ने कार्य जारी रहेको छ । खोलालाई आईईई प्रतिवेदन भन्दा गहिरो खन्न नहुने स्थानीयहरुको भनाई छ । खदम खोलामा जो समस्या देखिएको छ त्यस्तै घटना दोहोरिने स्थानीयहरुको भनाई रहेको छ ।

त्यसैगरी चुरेक्षेत्र घोषणा गरिएको स्थानबाट ढुंगाहरु चोरी हुने क्रम जारी रहेको छ । सोमबार पनि स्थानीय गाउँलेको सहयोगमा दुईवटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीले एउटा ट्रयाक्टर नियन्त्रणमा लिई सेक्टर वन कार्यालय सलकपुरलाई बुझाएको छ ।