भद्रपुर / गोरुको मासु काटीरहेको अवस्थामा मासुसहति दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार मध्यराति झापाको मेचीनगर नगरपालिका ५ तामाङटोलबाट प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
गस्ती गर्नेक्रममा तामाङ टोल पुग्दा स्थानीय वीरबहादुर आङदेम्वेको घर अगाडी आँगनमा मासु काटी रहेको प्रहरीले फेला पारेको थियो । शङ्का लागि सोधपुछ गर्दा आङदेम्वे र सन्तकुमार राइले जिउँदो गोरू काटेको स्वीकारेको डिएसपी राजेन्द्र पोखरेलले जनाए । घटनापछि २८ किलो मासु, पुछार, खुट्टा, कान सहितको छाला र मासु काट्न प्रयोग गरिने फलामको दाउ तथा काठको अचाना समेत बरामद गरिएको उनले जनाए ।
उनीहरुलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद् २७ अन्तर्गत पशुपंक्षी सम्वन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उल्लेखित कसूर अन्तर्गत कसैले गाई वा गोरू मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु वन्देज गरिएको, यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने कानूनी व्यवस्था रहेको उनले जनाए ।