धरान । धरान उपमहानगरको मुख्य प्रवेशद्वार तीनकुने चेकपोष्टमा बुधबारदेखि सुरक्षा जाँच बढाइएको छ ।

लकडाउनका बेला कामबेगर नै आवतजावत गर्नेहरूमाथि सुरक्षा जाँच बढाइएको हो । सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन अहिले चौथो सातामा चलिरहेको छ । अहिले काठमाडौंलगायत पश्चिमका जिल्लाहरूमा कोरोना संक्रमण भएको पुष्टि भइरहेको छ ।

कोरोनाको संक्रमण बढ्न सक्ने आशंका गर्दै सुरक्षाकर्मीहरूले जाँचलाई तीव्र पारेको हो । धरानमा पूर्वको रेफरल सेन्टर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत भएकाले यहाँ कोरोनाको संक्रमणको जोखिम रहेको मानिन्छ । बुधबार मात्रै इलाका प्रहरी कार्यालयले अनावश्यक रूपमा हिँडडुल गर्ने २८ जनालाई नियन्त्रणमा लिएको थियो । ४ महिलासहित २८ जनालाई नियन्त्रणमा लिएर २ घण्टापछि छाडिएको छ । केही सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ ।

ती सवारी साधनलाई भने लकडाउन खुलेपछि मात्रै फिर्ता दिने बताइएको छ । सरकारले लकडाउनलाई कडा रूपमा पालना गराउनका लागि आग्रह गरेको छ ।

TInkune_post_dharan