भद्रपुर / कोरोना सङ्क्रमण त्रासका कारण यसवर्ष भवन निर्माण सुचारु नहुने भएपछि निर्माण ठेकेदारले रेखदेखका लागि खटाएका कामदार घर फिर्ता गरेका कारण झापाको चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) अलपत्रे छ ।

बितेका दुई आर्थिक वर्षको वजेट निकासामा सरकारले आनाकानी गर्दा निर्माण कार्य ठप्प भएको तथा चालू आर्थिक वर्षमा पनि समयमा बजेट नआउँदा समस्या भएको थियो ।
बजेट आउने आशामा निर्माण कम्पनी वसे पनि पछिल्लो समय महामारीका रुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणले त्रसित बनाए पछि भवन निर्माण अन्यौलमा परेको हो । भवन निर्माण कार्य ५ वर्ष बित्नलाग्दा आधाभन्दा अगाडि बढ्न सकेको थिएन ।

तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला, तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वि. स. २०७२ असार २८ गते सो भवनको संयुक्तरुपमा शिलान्यास गरेका थिए । यस्तै नेपाली काङ्ग्रेसका नेता तथा झापा क्षेत्र नम्वर ३ का तत्कालीन साँसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र तत्कालिन नेकपा (एमाले)का प्रमुख सचेतक अग्निप्रसाद खरेलको उपस्थितिमा भवन निर्माण सुरु भएको थियो । शिलान्यास गरेको दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रुपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो ।

निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाई ३४ मिटर रहेको छ । सो भवनको पहिलो तलामा ब्यवसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । यस्तै, दोस्रो तलामा दुई वा तीनवटा बैङ्क अटाउने फ्लाट र तेस्रो तलामा एक हजार मानिस अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने गरि प्लानिङ गरिएको थियो । जसको ९६ वटा पिलर र प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएका छन् । भवन निर्माण कम्पनीका सञ्चालक रञ्जित साहले तोकिएकै समयमा भवन निर्माण गर्न दिनरात काम गरिरहे पनि केही प्राविधिक कारणले भवन निर्माणमा ढिलाई भएको स्वीकार गरे ।

निर्माण अवधि पूरा भइसकेको तथा पटकपटक म्याद थप गरे पनि सरकारले भुक्तानी रोके पछि काम सम्पन्न हुन नसकेको उनको भनाई छ । बजेट निकासा भएमा एक वर्षको अवधिमा निर्माण सम्पन्न गरी सरकारलाई भवन हस्तान्तरण गर्ने साहको दावी छ । यसवर्ष कामको मुख्य सिजनमा लकडाउन हुनु र बजेट निकासा नआउनुले निर्माण रोकिएको ठेकेदार साहले बताए ।

जिपी भवनको निर्माण पूरा भई सञ्चालनमा ल्याइएपछि भद्रपुर नगरलाई नै बाह्य पर्यटनको केन्द्र बनाउन सहयोग पुग्ने स्थानीयको विश्वास छ । तर दुई वर्षदेखि बजेट रोकेर सरकारले अन्याय गरेको आरोप लगाउँदै झापाकै साँसद प्रधानमन्त्री रहँदा झापा चिनाउने आयोजना अलपत्र पर्नु बिडम्वना भएको काङ्ग्रेसका नेता गणेश पोखरेलले गुनासो गरे ।