ताप्लेजुङ / शुक्रवार राती ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेन छेउमा भएको आगलागिबाट ८ वटा जलेर नष्ट भएका छन् । आगलागिबाट ७ करोड ६५ लाख ७२ हजार ७ सय रुँपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन गरिएको छ ।

कूल क्षति मध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया क्षति भएको छ । संकलित तथ्याङ्क अनुसार आगोले ७ वटा पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । यो सहित आगोबाट भएको ८ घर पूर्ण रुपमा क्षति र अरु केहि घरमा आशिंक क्षति भएको छ । ८ घरमा रहेका २९ घर परिवारका मानिस बिस्थापित भएका छन् । आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको पाइएको क्षति विवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाइटीका मन्त्री विकास गौतमले जानकारी दिए ।

पर्यटनमन्त्री भट्टराईद्वारा दुःख व्यक्त
आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गरेका छन् । मन्त्री भट्टराईले शनिवार विज्ञप्ति जारी गर्दै आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेका हुन् । मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराए । यता ताप्लेजुङ निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित प्रदेश सांसद टंक आङ्बुहाङले समेत विज्ञप्ती जारी गर्दै पिडितहरुको पुनःस्थापनाका लागि आफुँले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

पिडितलाई राहत वितरण सुरु
ताप्लेजुङ सदरमुकाम फुङलिङका आगलागी पीडित परिवारलाई स्थानिय सरकार र विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण सुरु गरेका छन् । फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावस्यक पर्ने दाल, चामल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, २ किलो चिनी, २ लिटर खाने तेल, २ किलो नुन, ३ किलो आलु, २ किलो दाल, र १ प्याकेट चिउरा वितरण गरिएको छ । यस्तै नगरपालिकाले पनि क्षतिको पुर्ण विवरण संकलन पछि मात्रै आफ्नो नियम अनुसार थप राहत प्रदान गर्ने भएको छ । यस अघि शनिबार विहान नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बल लगायतका गैर खाद्यान्न सामाग्री वितरण गरेको थियो । यस्तै ताप्लेजुङ बहुउद्धेश्यि सहकारी संस्था र न्यू कंञ्चनजंघा सहकारी संस्थाले समेत नगदै सहयोग गरेकाछन् ।