भण्टाबारी । सरकारले जारी राखेको लकडाउनको पूर्ण पालना गर्दै सुनसरीका मुस्लिम समुदायले रमजान मनाइरहेको पाइएको मुस्लिम आयोग जिल्लास्तरीय अनुगमन समितिले जनाएको छ ।
 
सुनसरीका विभिन्न  मस्जिद र मदरसाको अनुगमन क्रममा आफूहरूले त्यस्तो पाइएको उक्त अनुगमन समितिले जनाएको छ । मुस्लिम समुदायमा कोरोना संक्रमण पाइएपछि सरकारले गरेको लकडाउन पूर्ण पालन गराउने उद्देश्यले राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुगमन गर्न प्रत्येक जिल्लामा जिल्लास्तरीय अनुगमन समिति बनाएको हो ।
 
सुनसरीमा आफूहरूले अहिलेसम्म सानोठुलो गरी ३०५ वटा मस्जिद र ९६ वटा मदरसा अनुगमन गरेको उक्त समितिका सदस्य नईम अन्सारीले जानकारी दिए । अनुगमनको क्रममा मुस्लिम धर्मावलम्बीहरुले लकडाउनको पालना गर्दै मस्जिदमा भिडभाड नगरेको, पाँचजनासम्मले मस्जिदमा मात्र नमाज र धार्मिक क्रियाकलाप गर्ने गरेको पाइएको उनले बताए ।
 
एक दुई स्थानमा मस्जिदमा जमाती भेटिएकोले त्यस्तालाई जमातीलाई जिल्ला अनुगमन समितिका संयोजक डाक्टर खालिद हुसेन नेतृत्वको अनुगमन टोलिले जिल्ला प्रशासन कार्यालय र सुनसरी प्रहरीको सहयोगमा क्वारेन्टाइनमा पठाइएको अन्सारीले जानकारी दिए । अन्य जिल्लाको तुलनामा सुनसरीका मुस्लिम समुदाय बढी सजग र सावधानी अपनाएर पवित्र महिना रमजान मनाईरहेको पाइएको अनुगमन समितिले जनाएको छ ।
 
सीमामा थप निगरानी बढाउन आग्रह 
 
राष्ट्रिय मुस्लिम आयोग नेपालद्वारा गठित जिल्लास्तरीय अनुगमन समितिले सीमावर्ती क्षेत्रमा थप निगरानी बढाउन आग्रह गरेको छ ।
 
भारतबाट कोही कोरोना संक्रमित व्यक्ति भित्रीन नदिन सुरक्षाकर्मीले निगरानी बढाएपनि सीमावर्ती क्षेत्रका बासिन्दा चोरबाटो हुँदै आवतजावत गर्ने क्रममा जारी रहेकोले थप निगरानी बढाउनुपर्ने आवश्यकता रहेकोे अन्सारीको भनाइ छ । सीमामा २४ घण्टानै सशस्त्र प्रहरीले निगरानी बढाएपनि खुला सीमा नाकाको चोरबाटो हुँदै आवतजावत हुने क्रम रोकिएको छैन । सीमा सुरक्षा बल सुनसरीले विगतको भन्दा सीमामा अहिले व्यापक जनशक्ति बढाउदै निगरानी तथा गस्ती बढाएको छ । सुनसरीका सीमावर्ती क्षेत्रमा अहिले  ५६१ जना सशस्त्र प्रहरी परिचालन गर्दै निगरानी गर्दै आएको सीमा सुरक्षा बल सुनसरीले जनाएको छ ।