भद्रपुर । वडाध्यक्षले बहुमतको बलमा मनोमानी गरेको आरोप लगाउँदै काङ्ग्रेसले कार्यशैली सच्याउन माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
भद्रपुर ६ नम्बर वडाध्यक्ष प्रेमबहादुर बरुवालले वडा कार्यालयमा सञ्चालन गर्ने कार्य सम्पादन अपारदर्शी भएको भन्दै काङ्ग्रेस भद्रपुर ६ नम्बर वडा समितिले ज्ञापनपत्र बुझाएको हो ।
कोरोना सङ्क्रमणको युद्धमा वडाभित्र रहेका सबै दल, सहयोगी हात र वडाका जनप्रतिनिधिलाई विश्वासमा लिएर काम गर्नु पर्नेमा मनोमानी गरेको समितिको ठहर छ ।
वडाध्यक्षले केन्द्रीय सरकारको पदचापलाई नै पछ्याउँदै सुरु देखिको अपारदर्शीतालाई बढावा दिने विधि प्रक्रिया र स्थापित मापदण्ड विपरीतको काम गर्ने शैलीले हामीलाई गम्भीर बनाएको नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा वडाध्यक्ष प्रेमबहादुर बरुवाललाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
काङ्ग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका वडा सदस्यहरूलाई वडाबाट सम्पादन हुने महत्त्वपूर्ण विषयहरूमा कुनै जानकारी नगराई वडाको नेतृत्वबाट एकलौटी ढङ्गले निर्णय गरी काम गर्ने, वडाको बजेटबाट वितरण हुने बाख्रा पालन, गोठ सुधार जस्ता विभिन्न शीर्षकको रकम वितरण गर्दा संस्थागत निर्णय प्रक्रियालाई लत्याइने ज्ञापनपत्रमा उल्लेख छ ।
वडाध्यक्षले सामान्य मूल्यमान्यता र लोकलाजको समेत ख्याल नराखी आफ्नो पार्टी नेकपाको कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत गरी नेकपा, भद्रपुर वडा नं. ६ को कमिटीको अध्यक्षलाई जवर्जस्ती वडाको कर्मचारी (कार्यालय सहयोगी) को रूपमा वडाध्यक्षले नियुक्त गरेको उल्लेख छ । वडाध्यक्षको एकलौटी निर्णयबाट सिर्जित यस्ता अपारदर्शी र मूल्य मान्यताविहीन क्रियाकलापको घोर भत्र्सना गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।
वडाध्यक्षको भूमिकाले चिन्तित र बढी गम्भीर बनाएको छ । विपद्को यस घडीमा सहारा नेपालले विपन्न वडाबासीका लागि भनी छुट्याएको राहतको वडाध्यक्षले एकलौटी निर्णय गरी आफूखुसी वितरण गरेका छन् । यसमा समेत विगतमा झैं वडा समितिलाई बाइपास गरी काम गरेको काङ्ग्रेसको ठहर छ ।
ज्ञापनपत्रमा नेपाली काङ्ग्रेसको तर्फबाट गत स्थनीय तह निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेका रतिया राजवंशी र वडासभापति सुशान्त रायमाझीद्वारा हस्ताक्षरित विज्ञप्ति वडा कार्यालय र बोधार्थ भद्रपुर नगरपालिकाको कार्यालयमा नगर प्रमुखलाई बुझाएका छन् ।