झापा । ‘एकका लागि एक’ अभियानले झापाको कनकाई नगरपालिका–९ स्थित घैलाडुब्बामा ३० परिवारलाई राहत वितरण गरेकोे छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी झापा चारपानेको अगुवाईमा १६ वटा संघ/संगठनले शुरु गरेकोे अभियानले विपन्न ३० परिवारलाई सोमबार राहत वितरण गरेको हो ।
प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी दाल, २ केजी नुन, एक लिटर खानेतेल र २ डल्ला सावुन राहत वापत वितरण गरिएको थियो । अभियानले कनकाई नगरपालिकासँगको सहकार्यमा राहत वितरण गरेको सहारा नेपाल साकोस लक्ष्मीपुरका प्रमुख उमेश भारतीले बताए ।
कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजबंशी, वडा नं. २ का अध्यक्ष पशुराम गिरी, नेपाल रेडक्रस सोसाइटी झापा, मन्त्री चन्द्रप्रसाद चुडाललगायतले राहत वितरण गरेका थिए । कार्यक्रममा सहारा साकोस लक्ष्मीपुरका कर्मचारी खगेन्द्र निरौला, वेनिमा प्रसाई, निर्मला प्रसाई, रेडक्रस घैलाडुब्बा सभापति केशवप्रसाद शर्मालगायतको उपस्थिति थियो ।
कोरोना महामारीका कारण लकडाउन लम्बिएसँगै अभियान सञ्चालन गरिएको थियो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले सहारा नेपालको अगुवाइमा सञ्चालन अभियानलाई शुभकामना दिएका थिए । उनले नगरले ३ पटक राहत वितरण गरिसकेको बताउँदै भने ‘भोक भोकै मर्न दिदौन, तर भकारीमा धान हुनेले राहत नमाग्नु होला ।’ उनले सामाजिक दुरीलाई कायम राख्दै लकडाउन केही खुकुलो पारेको समेत बताए ।