भद्रपुर । मुस्लिम आयोगको जिल्ला अनुगमन समिति झापाले जिल्लाका १५ वटै स्थानीय तहमा रहेका मस्जिद तथा मदरसाको अवस्थामा बुझ्न स्थलगत अनुगमन शुरु गरेका छन् ।
मस्जिद तथा मदरसामा बसेका वा फसेका उनीहरूको अवस्था बुझ्न मुस्लिम आयोगले हरेक जिल्लामा अनुगमन समिति गठन गरेर सुरु गरेको हो । जिल्ला समितिका संयोजक सइद उल शेखको नेतृत्वमा गठित समितिका सदस्यहरू जाहिर रहमान, इन्ताज शेख, सरफराज शेख, सादिक अन्सारी लगायतको टोलीले जिल्लाका ६० वटा मस्जिद र ३९ वटा मदरसाको अनुगमन गरेको समितिले जनाएको छ ।
समितिले हालसम्म बिर्तामोड नगरपालिकाका मस्जिद र मदरसा गरी आठ वटा, मेचीनगर नगरपालिकाको धुलाबारीका मस्जिद र मदरसा गरी चार वटा, कचनकवल गाउँपालिकाका १९ वटा मस्जिद र १० वटा मदरसा, भद्रपुर नगरपालिकाका मस्जिद र मदरसा गरी चार वटा, बुधशान्ति गाउँपालिकाको बुधबारेका मस्जिद र मदरसा गरी दुई वटा, अर्जुनधारा नगरपालिकाका मस्जिद र मदरसा गरी दुइटा, झापा गाउँपालिकाका ३१ वटा मस्जिद र १० वटा मदरसाको अनुगमन गरिसकेको संयोजक सइद उल शेखले जानकारी दिए ।
दमक, बाह्रदशी, गौरादह, गौरीगञ्ज, कन्काई नगरपालिकामा अनुगमन गर्न बाँकी रहेको जनाए । समितिले स्थानीय तह र प्रहरी प्रशासनसँग सहकार्यमा अनुगमन गरिरहेको जानकारी दिए । अनुगमनको क्रममा सबै मस्जिद तथा मदरसाले नेपाल सरकारले निर्णय गरेको लकडाउनको पालना गरिरहेको बताए ।
मस्जिद, मदरसाहरूमा मौलाना र मुअज्जिन बाहेक कसैले पनि नमाज नपढेको उनको भनाइ छ । त्यहाँ कुनै पनि विदेशी नागरिक वा जमातीलाई राखिएको छैन । अहिले मुस्लिम समुदायमा रोजा पर्व चलिरहेको छ । रोजामा राती ८ बजे तरादि नमाज पढिन्छ, त्यो मस्जिदमै गएर पढ्नु पर्नेमा यो सङ्टका बेला सबैले आ–आफ्नो घरमै पढिरहेको उनले बताए । समितिले जिल्लाका मुस्लिम बस्तीहरूमा समेत पुगेर कोरोना भाइरसबाट बच्नलाई जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिँदै आइरहेको उनले बताए ।
जिल्लाको बिर्तामोड १ स्थित जामा मस्जिद र दमक ७ स्थित जामा मस्जिदमा २३ जना जमाती बसेका छन् । बिर्तामोडमा ९ मध्ये ८ जना र दमकमा १४ जना नै भारतीय नागरिक बसेका छन् । उनीहरू सबैको आरडिटी र पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि सेल्फ क्वारेन्टाइनमा राखिएको जनाइएको छ । जिल्लामा ७० मस्जिद र ४९ वटा मदरसा रहेको छ । बाह्रदशीमा नेपाली मुिस्लम सुमदायका जमातीमा कोरोना भाइरस पुष्टि भएपनि उनले कोरोना जितेर घर फर्किसकेका छन् ।