कालाबन्जार । अर्थमन्त्री युवराज खतिवडाले संसद्मा पेश गरेको विनियोजन विधेयक २०७७ का सिध्दान्त र प्राथमिकतामा सुझाव दिने क्रममा सांसद् रामकुमारी चौधरीले सांसद् विकास कोषमा छुट्याउँदै आउको रकम कोरोना कोषमा लगाउनु पर्ने बताएकी छन् ।
कोभिड १९ ले विश्वभरि नै मानव जातिलाई विनास गरिरहेको सन्दर्भमा नेपाल सरकारको तयारी अपुग रहेको बताइन् । हाल सरकारले कोरोना परीषण एक दिनमा १८ सयका दरले मात्रै गरिरहेको सन्दर्भ उठाउँदै उनले यसलाई तीव्र गतिमा लानु पर्ने सुझाव दिइन् ।
उनले यही गतिमा परीक्षण भए ३ करोड नेपालीलाई परीक्षण गर्न ४६ वर्ष लाग्ने तर्क गरिन् । उनले तीव्र गतिमा परीक्षण गर्न सरकारसँग माग गरिन् । उनले अहिलेको अवस्थामा निजी अस्पतालहरूले कुनै पनि भूमिका निर्बाह नगरेको भन्दै त्यस्ता अस्पतालहरूलाई सरकारीकरण गरेर लानु पर्ने बताइन् । कोरोना महामारीका बेला निजी अस्पतालको भूमिका शून्यप्रायः छ । त्यस्ता अस्पतालहरूलाई सरकारीकरण गरेर कोरोनाको परीक्षणको दायरा बढाउनु पर्ने माग गरिन् ।
उनले आर्थिक वर्षमा बिलासिताका वस्तुहरू खरिद गर्न सबै नेपालीलाई रोक लगाउनुपर्ने पनि बताइन् । उनले भएको पूँजीलाई कृषि, उद्योग, कलकारखानामा लगानी केन्द्रित गर्न सुझाव दिएकी छन् । उनले परम्परागत रूपमा वितरण हुँदै आएको सांसद् विकास कोषलाई कोरोना कोषमा परिणत गर्दै समाजवादन्मुख प्रणालीमा बजेट विनियोजन गर्न आग्रह गरिन् ।