धरान/ विश्वमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमितको आँकडाको आधारमा नेपाल ६५ औं स्थानमा रहेको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार अपरान्ह निकालेको आँकडामा धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाललाई ६५ औं स्थानमा राखिएको हो । शनिबार मात्रै नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो केही दिनयता तीन अङ्कमा कोरोना सङ्क्रमित थपिएको थपियै छन् । जोन्सले दक्षिण एशि एशियामा सबैभन्दा सङ्क्रमित भारतपछि पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान रहेको उल्लेख गरेको छ । शनिबार अपरान्हसम्म भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् । भारत धेरै संक्रमितको सूचीका आधारमा तेस्रो स्थानमा पर्छ भने पाकिस्तान १३ औं स्थानमा रहेको छ । त्यस्तै बङ्गलादेश १६ स्थानमा रहेको छ ।
नेपालमा पनि कोरोना सङ्क्रमणको स्थिति थप भयावह हुने अध्ययनहरूले उल्लेख गरिरहेका छन् । सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउन साउन ६ गते मध्यरातबाट खुकुलो बनाएको थियो । नेपालमा ९५ प्रतिशत कोरोना संक्रमितलाई लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा शनिबार ३ सय १५ जना सङ्क्रमित थपिएका थिए भने कुल सङ्ख्या २० हजार ८६ पुगेको छ ।
जसमध्ये प्रदेश २ मा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन् । नेपालमा ७२ दशमलव ५ प्रतिशत कोरोना सङ्क्रमित कोरोना मुक्त बनेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९३ जनामा सङ्क्रमणबाट मुक्त बनेका छन् । कुल निको हुनेको सङ्ख्या १४ हजार ४ सय ९२ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ९४ रहेको छन् । हालसम्म स्वास्थ्य मन्त्रालयले ३ लाख ८२ हजार ४ सय ९ जनाको पीसीआर विधिबाट परीक्षण गरिसकेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबारसम्म अद्यावधिक गरेको तथ्याङ्कमा ५६ जनाको मृत्यु भएको छ । लकडाउन खुकुलो भएपछि मृतकको संख्या बढिरहेको छ । लकडाउन खुकुलो बनेपछिको आँकडालाई हेर्दा संक्रमण दर ३ दशमलव ८५ प्रतिशतले बढेको छ । साउन ७ गतेदेखि १७ गतेसम्मको अवधिमा ५८ हजार १ सय ७४ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा २ हजार ९२ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो ११ दिनको अवधिमा देखिएको यो सङ्क्रमण दर प्रतिशतमा ३ दशमलव ८५ हो । त्यसभन्दा अघि भने त्यो प्रतिशत २ दशमलव ८५ रहेको थियो ।
डा. गौतमले सीमा नाकाबाट प्रवेश गर्नेहरूलाई क्वारेण्टिनमा राख्नका लागि अनुरोध गरेका छन् । कतिपय क्षेत्रमा स्थानीय तह आफैले पनि लकडाउन घोषणा गरेको छ । जसमध्ये प्रदेश १ मा इनरुवामा पहिलो नम्बरमा आउँछ । शुक्रबार मात्रै विराटनगर महानगरपालिकाले मध्यरातदेखि लागू हुने गरी १४ दिनसम्म लकडाउन गरिसकेको छ । कतिपय क्षेत्रमा भने अतिआवश्यकीय सामग्रीबाहेकका पसल सञ्चालनका लागि निश्चित समय छुट्याइएको छ ।