धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा स्थानीयले लगाएको बालीनाली बाँदरले खाएर सखाप पारिदिएपछि पीडित बनेका टोलवासीहरूले नियन्त्रणका लागि भन्दै स्थानीय सरकारलाई माग गरेका छन् ।
धनकुटा नगरपालिका–१ र ३ का ७ वटा टोलबस्तीका स्थानीय किसानहरूले आइतबार जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनकुटा, धनकुटा नगरपालिका कार्यालय, जिल्ला वन कार्यालय, पत्रकार महासङ्घ धनकुटा शाखामा ज्ञापन–पत्र बुझाएका हुन् । उनीहरूले धनकुटा–१ र ३ को वडाध्यक्षहरूलाई पनि ज्ञापन–पत्र बुझाएका छन् ।
बाँदरले पाक्न लागेको मकै, सागसब्जी, एभोकाडोलगायत बारीमा लगाइएका बालीनाली सखाप बनाइदिएकाले सरकार र प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको जनाएको छ । धनकुटा–१ निगालेको जालपादेवी टोल बस्ती सङ्गठनका अध्यक्ष लीलाबहादुर मल्ल, शिवालय टोल बस्तीका अध्यक्षलगायतले बाँदरले कृषिजन्य बालिनाली विनाश गरेको भन्दै ज्ञापन–पत्र बुझाएको बताए ।
उनीहरूले बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय सरकार र प्रशासनलाई गम्भीर बन्न ज्ञापन–पत्रमार्फत् विशेष आग्रह गरेका छन् ।
ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले तत्काल स्थानीय तह, सुरक्षा निकाय, जिल्ला वन कार्यालय र सरोकारवाला निकाय प्रमुख एवम् प्रतिनिधिहरूलाई सहभागी गराएर बाँदर आतङ्क नियन्त्रण तथा व्यवस्थापनको विषयमा के गर्न सकिन्छ भन्ने छलफल राख्ने बताए ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले स्थानीय प्रशासनलगायत सरोकारवाला सङ्घ–संस्थाको निर्णयअनुसार बाँदर नियन्त्रणका लागि आफू अघि बढ्न तयार रहेको बताए । जिल्ला वन कार्यालय धनकुटाका प्रमुख मेघराज राईले स्थानीय सरकार, प्रशासन र सरोकारवाला सरकारी कार्यालयको आवश्यक समन्वयमा बाँदर आतङ्क नियन्त्रणका लागि गरिने निर्णयानुसार आफू अघि बढ्ने बताए ।
यसअघि पनि धनकुटा नगरपालिकाले आ.व. ०७५/७६ मा वडा नं. ६ सँग समन्वय गरेर बाँदर आतङ्क नियन्त्रणका लागि अभियान सञ्चालन गरेको नगर प्रमुख चिन्तन तामाङले बताए । बाँदर नियन्त्रणका लागि भारतबाट बाँदर समातेर थुन्ने ४ जना शिकारी ल्याएर ५ सयभन्दा बढी बाँदर पक्राउ गरेर अन्यत्र लगेको स्मरण गराए ।
बाँदर नियन्त्रणका लागि धनकुटा नगरपालिका र वडा नं. ६ ले १० लाखभन्दा बढी रकम खर्च गरेको वडाध्यक्ष मिलन नेवाः खड्गीले बताए ।