विराटनगर/ सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले यो वर्ष लक्ष्यअनुसार माछाका भुरा उत्पादन गर्न नसक्ने भएको छ । केन्द्रले भुरा उत्पादनका लागि आवश्यक प्राविधिक सहयोगमा ध्यान नदिएका कारण भुरा उत्पादनको काम एकपछि अर्को गर्दै असफल भएको हो । भुरा उत्पादनका लागि पटक–पटक प्रयत्न गर्दा असफलता मात्र हात लागे पनि केन्द्रले सुधारका लागि कुनै प्रयत्न गरेको छैन । भुरा उत्पादनमा देखिएको समस्या समाधान गर्न पहल गर्नुको साटो कुनै विकल्प नखोजेर केन्द्र दुई सातायता भुरा उत्पादनसम्बन्धी सबै काम रोकेर बसेको छ ।
फागुन महिनादेखि माछाको भुरा उत्पादन थालिन्छ । फागुन दोस्रो साता कमन कार्प जातको माछाको भुरा उत्पादन गरिएको थियो । पोखरीमै ब्रिडिङ गरिने भएकोले कमन कार्प जातको भुरा सन्तोषजनक उत्पादन भएको थियो । त्यसपछि केन्द्रले ग्रास कार्प जातको भुरा उत्पादन गर्न प्रयत्न गरेको थियो । ब्रिडिङ सफल पनि भएको थियो तर २४ घण्टापछि दशौँ लाख भुरा मरेर नष्ट भए । भुरा मर्नुको कारण केन्द्रले खोजी गरेन । उसले वैशाख पहिलो साता फेरि जबर्जस्त रुपमा सिल्भर कार्प जातको माछाको ब्रिडिङ गराउने प्रयत्न गयो । अण्डा राम्रोसँग दिएको पनि थियो तर त्यो पनि सबै बिग्रियो । त्यसपछि वैशाख दोस्रो साता बिगहेड जातको माछा ब्रिडिङको प्रयास पनि असफल भयो । सबै भुरा मरे । अहिले कृषि अनुसन्धान परिषद्अन्तर्गत रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा कृषकलाई आवश्यक पर्ने माछाका भुरा छैनन् ।
भुरा उत्पादनको मुख्य जिम्मेवारी लिएका केन्द्रका प्राविधिक अधिकृत युक्ति मुखिया पानीको व्यवस्थापन मिलाउन नसक्दा नोक्सानी भइरहेको बताउँछन् । उनले भने, ‘ह्याचलिङमा आवश्यक पर्ने पानी छैन । हामीले बोरिङ गर्न धेरैपटक भनेका छौं तर व्यवस्थापनबाट त्यो काम भएको छैन । इञ्जिनियरले पनि यसको गाम्भीर्यतालाई बुभ्नुभएको छैन जसले गर्दा योपटक बढी नै नोक्सानी हुन पुग्यो । नियमित पानीको व्यवस्था हुने हो भने नोक्सानी कम गर्न सकिन्छ ।’ मुखियाका अनुसार पोखरीको पानीमा ह्याचलिङको काम गर्दा जोखिम बढी हुन्छ । सङ्क्रमणलगायतका समस्या आउने भएकाले नियमित बोरिङको पानीको प्रबन्ध आवश्यक पर्ने उनको भनाइ छ ।
पोखरीको पानीमा तापक्रम बढी हुने भएकोले अण्डा तथा अण्डाबाट निस्किएको भुरा मर्ने खतरा हुन्छ । ग्रास कार्प, सिल्भर कार्प र बिगहेड पनि त्यही समस्याले गर्दा नष्ट भएको हो । ग्रास कार्पको भुरा भने पानीमा अक्सिजनको मात्रा मिलाउन नसक्दा मरेको थियो । ग्रास कार्पको भुरा मरेको समयमा पानीमा अक्सिजनको मात्रा शून्य दशमलव ३ प्रतिशत मात्र थियो ।
भुरा मर्ने समस्या यो वर्ष मात्रै देखिएको हैन । हरेक साल केन्द्रमा लाखौँ भुरा मर्ने गरेको छ । अघिल्लो वर्ष पनि ५० लाखभन्दा बढी भुरा मरेको थियो तर पनि केन्द्रले त्यसमा सुधार ल्याउने कुनै काम अघि बढाएन । केन्द्रका इञ्जिनियर गोविन्द प्याकुरेलले प्राविधिक रुपमा गर्नुपर्ने काम ध्यान दिएर नगर्दा कतिपय समस्या आएको छ । उनी तरहरा, इलामको जौबारी, धनकुटाको पाख्रीवासलगायतका विभिन्न कृषि अनुसन्धान केन्द्रको जिम्मेवारीमा पनि छन् । त्यसका अतिरिक्त धेरै निजी फर्महरुमा उनी काम गर्छन् जसले गर्दा केन्द्रहरुलाई धेरै समस्या आइपर्दा पनि उनको परामर्श र सहयोग पाउन कठिन भएको छ । उनले तरहराको ह्याचरिङमा बोरिङको पाइप जडान गर्न बजेट नभएको बताउँदै पन्छाएपछि जबर्जस्ती पोखरीको पानीमा माछाको भुरा काढ्ने प्रयत्न गर्दा ठूलो नोक्सानी भएको हो । जस्तो प्रविधि उपलब्ध छ, त्यस्तै काम गर्नु भन्ने निर्देशनले कर्मचारीहरु उत्साही नभएको फिल्डका कर्मचारीहरु बताउँछन् ।
कर्मचारीबीचको असमझदारी र संयोजनको अभावले गर्दा केन्द्रको भुरा उत्पादनमा समस्या आएको अधिकृत उनीता साह अस्वीकार गर्छन् । उनको भनाइ छ, ‘अहिले ह्याचरी खाली भएकोले मात्र सेट गरेका थियौँ तर बिग्रयो । अनुसन्धान केन्द्र भएकोले यस प्रकारको नोक्सानी हुनुलाई अन्यथा लिन मिल्दैन । कर्मचारीबीचको असमझदारीका कारण नियतपूर्ण नोक्सानी भने होइन ।’ केन्द्रमा माउहरुको सङ्ख्या प्रशस्त रहेको हुँदा अहिले बिग्रिए पनि किसानहरुका लागि आवश्यक भुरा उत्पादन गर्न सकिने उनको जिकीर छ ।
भुरा उत्पादनमा खटिने प्राविधिकहरु भने प्रशासनिक व्यक्तिको भनाइमा सत्यता देख्दैनन् । उनीहरु भन्छन्, ‘वैशाखमा उत्पादन गर्नुपर्ने भुरा पानीको प्रबन्ध मिलेपछि साउनमा उत्पादन गर्नु भन्ने निर्देशनअनुसार काम गर्न सकिँदैन । जुन समयमा भुरा उत्पादन गर्नुपर्ने हो, त्योभन्दा १५ दिन अघि–पछि जाँदा पनि धेरै फरक पर्छ । महिनौँको कुरा गर्नु प्राविधिक ज्ञानको कमी हो ।’
केन्द्रले यो वर्ष किसानलाई फ्राई साइजको २० लाख, ह्याचलिङ ५० लाख, फिङ्गर साइजको २ लाख र खाने साइजको ४ हजार किलो माछा बिक्री गर्ने लक्ष्य लिएको छ । कमन कार्पको बाहेक अरु जातको भुरा उत्पादन असफल भएपछि केन्द्रको लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको छ । यद्यपि रहु र नैनीको भुरा उत्पादन गर्ने समय बाँकी रहेको हुँदा लक्ष्य पूरा हुने साहको भनाइ छ । त्यसबाहेक यो वर्षबाट कार्प जातबाहेक पंगास, टिलापिया र रहुको नयाँ जातको भुरा उत्पादनको अनुसन्धान गर्ने तयारी गरिरहेको उनले जनाए । यद्यपि अघिल्लो मङ्गलबार पोथीलाई भालेमा रुपान्तरण गर्ने टिलापिया माछाको प्रक्रिया पनि असफल भएको छ । आवश्यक पानी ह्याचलिङ्मा पठाउन नसक्दा भुरा मरेको केन्द्रले जनाएको छ ।