ताप्लेजुङ/ वन्यजन्तुले मानिसमाथि नै आक्रमण गर्न थालेपछि ताप्लेजुङको कालीखोला गाविसका स्थानीयले गाउँ नै छाड्न थालेका छन् । मानिस र घरपालुवा वस्तुभाउमाथि चितुवा र भालुले आक्रमण गर्न थालेपछि हालसम्म २२ परिवार अन्यत्र बसाइँ गएको कालीखोला–९ का विजय चापागाईंले बताए । गाउँ वरिपरि बाक्लो जङ्गल बढेको र दैनिकजसो जङ्गलबाट आउने कालो भालु र चितुवाले मानिस र घरपालुवा जनावरमाथि आक्रमण गर्ने तथा लगाएको बाली पनि सखाप पार्ने भएकाले बसाइँ सर्नुको विकल्प नभएको चापागाईंको भनाइ छ ।
भारतसँग सिमाना जोडिएको यो गाविसमा भालु, बाघ, चितुवा, वन कुकुर, मृग, घोरल, कालिज, दुम्सीजस्ता जनावरको ‘आतङ्क’ बढेको कालीखोला सामुदायिक वन उपभोक्ता समितिकी सदस्य देवीमाया बानियाँले बताइन् । यी वन्यजन्तु नजिकैको सामुदायिक वन र सिमाना जोडिएको भारतको निकुञ्ज र आरक्ष क्षेत्रबाट समेत आउने गरेको उनको भनाइ छ ।
बसाइँ सरेर गएकाहरु अधिकांश पाँचथर जिल्लाको फलैँचा गाविसमा बसेका छन् । विस्थापित उनीहरूले गुजाराका लागि मध्यपहाडी लोकमार्गछेउमा टहरो बनाउने, व्यापार गर्ने र अँधियामा खेती गर्न थालेका छन् । केही परिवार इलाम र झापामा समेत झरेको स्थानियको भनाइ छ । स्थानीयले गाउँ छाड्न थालेपछि घरहरु सबै जीर्ण अवस्थामा रहेका छन् भने अरू दर्जनभन्दा बढी परिवार पनि गाउँ छाड्ने तयारीमा रहेको कालीखोला–४ का खोमनाथ बानियाँले बताए ।
पहिले वनजङ्गल जोगाउनुपर्छ भन्ने सरकारी तथा गैरसरकारी कार्यालयले वनजङ्गल बढेसँगै वन्यजन्तुको आक्रमणले स्थानीय नै बसाइँ सर्दासमेत बेवास्ता गरिएको उनीहरुको गुनासो छ । वन अधिकृत माधव देवले भने स्थानीयले वन्यजन्तु आतङ्कबारे मौखिक गुनासो गरे पनि लिखित जानकारी नदिएको बताए । लिखित रुपमा आएमा क्षतिपूर्तिको प्रावधान भएकाले लिखित निवेदन सम्बन्धित निकायमा पठाउने उनको भनाइ छ ।