बिर्तामोड/ वीरगञ्जस्थित अरनिको सिमेन्ट उद्योग प्रालिबाट उत्पादन भएको ‘एड्भान्स सिमेन्ट’ प्रयोग गरेर बनाइएका भौतिक संरचना धमाधम भत्किन थालेका छन् । केही दिनअघि बुट्टाबारीमा घर भत्किएपछि क्षतिपूर्ति तिर्न लिखित कागज गरेको कम्पनीले अरु घर पनि भत्किएपछि पीडितलाई ‘जे गर्न सक्छौ, गर’ भनेर धम्की दिन थालेको छ ।
एडभान्स सिमेन्ट प्रयोग गरिएको बिर्तामोड–७ मेघाबारीस्थित ग्रीनउड किन्डर होम स्कुलको निर्माणाधीन भवन भत्कन थालेपछि गुनासो गर्दा कम्पनी सञ्चालकले क्षतिपूर्ति दिनुको साटो ‘जे गर्न सक्छस्, गर’ भनेर धम्की दिएको पीडितले बताए । भवन भत्किन थालेपछि विद्यालय सञ्चालकले काम रोकेका छन् । यो सिमेन्ट प्रयोग गरेका अन्य उपभोक्तामा पनि त्रास उत्पन्न भएको छ ।
विद्यालय सञ्चालक शान्तरत्न शाक्यले बिर्तामोडको घिमिरे आइरन सप्लायर्सबाट ५ सय ५० बोरा एड्भान्स सिमेन्ट खरिद गरेर निर्माण शुरु गरेका थिए । उनले माटोमुनिको काम सकेर पिल्लर तथा इँटा जोड्ने काम पनि सकेका छन् तर पिल्लर जोडेको एक महिनासम्म सेटिङ नभएपछि कम्पनीमा सुनाएको उनले बताए । उनले पत्रकार सम्मेलन गरी पिल्लर माटोले मात्र बनाएको भन्दा पनि कमजोर रहेको बताए । कम्पनीले ४ देखि ५ लाखसम्म क्षतिपूर्ति दिन सक्ने बताउँदै त्यतिमा चित्त नबुझे ‘जे गरे पनि हुन्छ’ भनेको शाक्यले बताए । उनले लगभग ४० लाखबराबरको निर्माण कार्य सम्पन्न भएकाले त्यसको क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । एड्भान्सले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको कम्पनीको दावी छ ।
एड्भान्सको बिर्तामोडस्थित थोक बिक्रेता राम घिमिरेले यो सिमेन्ट पहिले पनि पूर्वमा बिक्री भएर गुणस्तरहीन प्रमाणित भएपछि यता ल्याउन बन्द गरिएको बताए । उनले कम्पनीका प्रबन्धक दीपक घिमिरेले नै ‘गुणस्तर सुधारेर बजारमा ल्याएका छौँ’ भनेपछि विश्वासले डिलरसिप लिएको जनाए ।
‘ढिलो सेटिङ हुन्छ भनेर मलाई पहिले नै थाहा थियो’, बिक्रेता घिमिरेले भने, ‘यसरी सेटिङ नै नभएको घटना चाहिँ झापामा यो दोस्रो हो ।’ उनले कम्पनीले इमानदार भएर क्षतिपूर्ति तिर्नुको विकल्प नभएको बताए । अहिलेसम्म आपूले लगभग ४० हजार बोरा सिमेन्ट बिक्री गरिसकेको जनाउँदै घिमिरेले बिर्तामोडमा यसका पाँचवटा डिलर रहेको बताए । ‘सबै डिलरबाट झण्डै २ लाख बोरा सिमेन्ट बिक्री भएको अनुमान गर्न सकिन्छ’, उनले भने, ‘अरु ठाउँबाट पनि लगातार कम्प्लेन आयो भने कसले सामना गर्न सक्छ ?’
सिमेन्ट कमसल भएको थाहा पाएपछि स्कुल निर्माण स्थलमा आएका कम्पनीका कानूनी सल्लाहकार प्रदीप कोइरालालगायतको टोलीले बाँकी रहेका ४६ बोरा सिमेन्टसमेत लैजान खोजेका थिए । विद्यालयका एक सञ्चालक गिरीधारी श्रेष्ठले भने, ‘हामीसँग भएको प्रमाण नष्ट गर्छन् भनेर ल्याब टेष्टका लागि एक बोरा मात्र दियौँ ।’ उनले एक महिनासम्म सेटिङ नहुने सिमेन्ट गुणस्तरीय हुनै नसक्ने दावी गरे । श्रेष्ठले कम्पनी सञ्चालकले फोन नउठाएर कल डाइभर्ट गर्न थालेपछि क्षतिपूर्तिका लागि कानूनी उपचार खोज्ने जनाए ।
स्कुलको भवन निर्माणमा संलग्न व्यवसायी नारायण राजवंशीले एड्भान्स सिमेन्ट कमसल छ भन्ने निर्माण थाल्दा नै थाहा पाएको बताए । उनले सिमेन्टको काम गर्दा हातखुट्टामा देखिने असर त्यहाँ नदेखिएको बताए । ‘पहिले नै सिमेन्टजस्तो लागेको थिएन’, उनले भने, ‘अहिले थाहा भयो– यसको उत्पादनमा गम्भीर त्रुटि छ ।’ उनले उद्योगले लापर्वाहीपूर्ण उत्पादन गरेका कारण उपभोक्ताले सास्ती व्यहोर्नुपरेको जनाए । निर्माणाधीन स्कुलमा प्लम्बिङको काम गर्ने प्राविधिक चन्द्र खरेलले अन्य स्थानमा दुईजना कामदारले एक सातामा गर्ने काम यो स्कुलमा दुई घण्टामा सकेर आएको बताउँदा आपूm आश्चर्यचकित भएको बताए ।