use

अमेरिकी सरकारले बिहिबार दिउसो विशेष रिपोर्ट सार्वजनिक गर्दै नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको क्रिडास्थल बन्नसक्ने कडा चेतावनी दिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले आतंकवाद सम्बन्धि विश्वका विभिन्न देशहरुको रिपोर्ट सार्वजनिक गर्दै नेपाल आतंकवादीको क्रिडास्थल बन्नसक्नेमा चासो व्यक्त गरेको हो । गत वर्षको तुलनामा आतंकवादीको क्रिडास्थल बन्नसक्ने सम्भावना बढेर गएको रिपोर्टमा संकेत गरिएको छ ।

विमानस्थलमा कमजोर सुरक्षा र खुल्ला सिमाना मुख्य चुनौती

गतवर्ष सार्वजनिक रिपोर्टमा नेपाल आतंकवादीहरुको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने भन्दै चासो व्यक्त गरिएको थियो । तर बिहिबार सार्वजनिक रिपोर्टमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट प्वाइन्टमात्र नभई क्रिडास्थल नै बन्ने सम्भावना रहेको भन्दै विशेष चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘नेपालको भारतसँगको खुल्ला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कमजोर सुरक्षा नियन्त्रण कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादी समुहहरुले ट्रान्जिट प्वाइन्ट र आफ्ना गतिविधि गर्ने सम्भावित क्रिडास्थल केन्द्र बनाउनेप्रति चासोले निरन्तरता पाएको छ ।’

आतंकवादविरोधी कानुनको अभाव

[caption id="attachment_3292" align="alignleft" width="150"]Kishor-Panthi किशोर पन्थी[/caption]

अमेरिकी रिपोर्टमा नेपालभारतबीचको खुल्ला सिमानाका कारण आतंकवादको खतरा औंल्याइएपनि सिमाक्षेत्रबाट आतंकवाद नियन्त्रणका दिशामा नेपाल र भारतले समन्वय गरेको जनाइएको छ । यद्यपी आतंकवाद विरोधी लाडाईमा नेपालमा विधिको अभाव रहेको, कानुन कार्यान्वयन हुन नसकेको र सिमा सुरक्षामा समस्या रहेको रिपोर्टमा उल्लेख छ । नेपालमा आतंकवादविरोधी कानुनको अभाव रहेकोमा अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । रिपोर्टमा भनिएको छ –‘आतंकवाद वा आतंकवादी सञ्जालहरुलाई सामाग्री सहयोग गर्नेहरुलाई अपराधीका रुपमा कारवाही गर्नका लागि नेपालमा कानुनको अभाव रहेको छ । उदाहरणका लागि आतंकवादी गतिविधिमा संलग्न हुनेहरुलाई पनि नेपाली अदालतमा हत्या वा हिंशाको कानुन अन्तरगत मुद्दा चलाइन्छ ।’

आतंकवादविरुद्ध लड्न साधनश्रोतको अभाव

प्रायजसो नेपाली अधिकारीहरुले नेपाली माटोमा अन्तर्राष्ट्रिय आतंकवादी गतिविधिको जोखिम कम रहेको वा हुँदै नभएको रुपमा नेपाललाई हेर्ने गरेको र नयाँ कानुनको निर्माणमा उत्प्रेरणा निकै कम रहेको अमेरिकी रिपोर्टमा जनाइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘नेपालले आतंकवादी घटनाको प्रतिउत्तरका लागि नेपाल प्रहरीको विशेष ब्यूरोमा युनिट त बनाएको छ तर कानुन कार्यान्वयन युनिटसँग संदिग्ध आतंकवादीको प्रभावकारी पहिचानका लागि सिमित क्षमतामात्र रहेको छ । भारतसँगको खुल्ला सिमाना र विमानस्थलमा रहेको कमजोर सुरक्षाका कारण अन्तर्राष्ट्रिय आतंकवादीहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट वा क्रिडास्थलका रुपमा प्रयोग गर्नसक्ने जोखिम अझ बढेर गएको छ ।’

 

नेपालसँग साइबर, डीएनए, बिष्फोटक जस्ता प्रमाणका आधुनिक रुपहरुको अभ्यास गर्नका लागि सिमित क्षमतामात्र रहेको रिपोर्टमा जनाइएको छ । यद्यपी नेपालको कानुन कार्यान्वयन निकायले त्यसका लागि बाह्य प्राविधिक सहयोग र तालिमका लागि भने रुची देखाएको रिपोर्टमा उल्लेख छ । अमेरिकी रिपोर्टमा नेपालले दक्षिण एसियाका देशहरुबाट आतंकवादीहरुबारे अनुसन्धानका लागि भएका अनुरोधमा भने समन्वय गरेको जनाइएको छ ।

काठमाडौंमा रहेको विमानस्थलमा रहेको कमजोर सुरक्षा अवस्थाबारे विशेष चासो व्यक्त गर्दै रिपोर्टमा भनिएको छ –‘काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोलाहरु परिक्षण गर्ने नयाँ आधुनिक पद्धती र यात्रुहरुको एकलरुपमा चेकजाँच गर्ने प्रणालीको अभाव रह्यो । विमानस्थलका कर्मचारीहरुलाई विमानस्थलका सबैक्षेत्रमा पुग्न निषेध गर्नमा कमजोर नियन्त्रण रह्यो । साथै कर्मचारीहरुको प्रारम्भिक तथा नियमित पृष्ठभूमी परिक्षण आवश्यक मात्रमा रहेन । ’

नेपाली प्रहरी अधिकारीहरुले अमेरिकी सरकारको आतंकवादविरोधी सहायता कार्यक्रममा भाग लिएको र तालिम नेपालभित्र र बाहिर आतंकवादी ट्रान्जिटबाट देशको सिमा (हवाई र थल दुबै ) सुरक्षित गर्न जनपथ सुरक्षा शक्तिको क्षमताबृद्धिमा केन्द्रीत रहेको रिपोर्टमा उल्लेख छ ।

नेपाल सरकारले आतंकवादीहरुलाई हुने आर्थिक सहायता रोक्ने दिशामा भने प्रगति गरेको रिपोर्टमा जनाइएको छ । तर त्यो दिशामा थप कार्य र पहल आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । आर्थिक अपराधको अनुसन्धान र सिमा सुरक्षा लगायतका विषयमा दक्षता विकाशका लागि थप कार्य जरुरी रहेको रिपोर्टमा औल्याइएको छ । रिपोर्टमा अगाडि भनिएको छ –‘सरकारी भ्रष्टाचार, कमजोर सिमा सुरक्षा कार्यान्वयनका साथ खुल्ला र ठूलो सिमाना, आर्थिक क्षेत्रका सिमित नियमहरु र ठूलो संख्यामा अनौपचारिक अर्थतन्त्रले नेपाललाई मनी लण्डरिंग र आतंकवादीलाई आर्थिक सहयोगका दिशामा संवेदनशिल बनाइरह्यो । ’

आतंकवादीलाई आर्थिक सहयोगको खतरा

 

हुण्डी र हवाला जस्ता गैरकानुनी माध्यमबाट पैसाको ओसारपसार हुने गरेको प्रति पनि अमेरिकी रिपोर्टमा चासो व्यक्त गरिएको छ । सरकारी र बैंक उद्योगका अधिकारीहरुका अनुशार ४० प्रतिशतको हाराहारीमा रकमको ओसारपसार हुण्डी र हवाला जस्ता गैरकानुनीमाध्यमबाट हुने गरेको अमेरिकी रिपोर्टमा जनाइएको छ । विदेशबाट आउने रकमको श्रोत कानुनी वा गैरकानुनी रहेको निर्धारण गर्नमा नेपाल सरकारसँग सिमितमात्र क्षमता रहेको भन्दै रिपोर्टमा यसबारे चासो व्यक्त गरिएको छ । नेपाल र भारबीचको खुल्ला सिमानाका कारण पैसा, सुन र जालीनोटको तस्करी पत्ता लगाउन कठिन भइरहेकोमा रिपोर्टमा जोड दिइएको छ ।

नेपाली अधिकारीहरुले कानुन कार्यान्वयन निकायहरुलाई सघाउन आर्थिक तथ्यांकसहितको कम्प्युटर प्रणाली जडान गरी सम्भावित आतंकवादीहरुको सम्पत्ति पत्ता लगाउने र रोक्का गर्ने घोषणा गरेको रिपोर्टमा जनाइएको छ । तर सन् २०१५ को अन्त्यसम्ममा पनि त्यस्तो कम्प्युटर प्रणाली संचालनमा नआएको रिपोर्टमा जनाइएको छ । नेपालको केन्द्रीय बैंकले आतंकवादीलाई आर्थिक सहयोग गरेको सुचना नआएसम्म गैरनाफामुलक संस्थाहरुलाई नियन्त्रण गर्न नसकेकोपनि रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा नेपाल बाहेक विश्वका अन्य देशहरुको अवस्थाबारे पनि उल्लेख गर्दै विश्व आतंकवादको खतरा गत बर्ष तीब्र गतिमा बढेको उल्लेख गरिएको छ ।

(लेखक अमेरिकाबाट प्रकाशित हुने नेपाली पत्रिका खसोखास साप्ताहिकका सम्पादक हुन् ।)